समाज

पोषण र सरसफाईका लागि सुत्केरीलाई उपाध्यक्षको कोसेली

बैतडी- जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ।  

गाउँपालिकाभित्र रहेका ४२५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए। पोषण र सरसफाईका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्य संस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उनले बताए।

उक्त कार्यक्रमका लागि गाउँपालिकाले चार लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ। उपाध्यक्षको कोसेलीमा दाल, तेल, ज्वानो, सेनेटेरी प्याड, साबुन, नङ्काटो, सोडालगायतका सामग्री रहेका दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन्। उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने उनले बताइन्।

दोगडाकेदार गाउँपालिकाका वडा नं ४, वडा नं ५ र वडा नं ८ यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन्।

यसैगरी, दोगडाकेदार गाउँपालिकाका दुई वटा वडालाई चालू आर्थिक वर्षभित्रै पूर्ण पोषणयुक्त घोषणा गरिने भएका छन्। दोगडाकेदार गाउँपालिका वडा नं ४ र वडा नं ५ लाई पूर्ण पोषणयुक्त वडा घोषणा गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ।

पूर्ण पोषणयुक्त घोषणाका लागि आवश्यक सूचक पूरा गर्नका लागि दुई वडा लागिपरेका छन्। पूर्ण पोषणयुक्त घोषणाका लागि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, छ महिनासम्म बच्चाले आमाको दूध मात्रै खाएको, प्रत्येक महिना बच्चाको तौल लिएको र पाँच वर्षमुनिका बालबालिकाले वर्षमा दुईपटक भिटामिन ए र जुकाको औषधि खाएको हुनुपर्ने दोगडाकेदार– ५ न्वाली स्वास्थ्य चौकीका इञ्चार्ज नैनसिंह गोयलाले जानकारी दिए।

यसका साथै एक वर्षभित्र वडामा कुनै पनि बच्चा कुपोषित नभएको, गर्भवती महिलाले टिटीखोप लगाएको, गर्भवती हुँदा प्रोटोकलअनुसार चार पटक गर्भजाँच गराएको, हजार दिने आमाको घरमा करेसाबारी हुनुपर्ने लगायतका सूचक हुनुपर्ने उनले बताए।  

पूर्ण पोषणयुक्त घोषणाका लागि गाउँपालिकाले पनि आवश्यक बजेट विनियोजन गरेको दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन्।

प्रकाशित: २५ कार्तिक २०७६ ०६:२० सोमबार

पोषण सरसफाई कोसेली