समाज

२५ देशका हजार बढीको सहभागिता रहने

भैरहवा - लुम्बिनीमा दोस्रो अन्तर्रराष्ट्रिय त्रिपिटक चान्टिङ हुने भएको छ। अगामी कर्तिक २८ गतेदेखि बुद्ध धर्म र लुम्बिनीको प्रचारका साथै आध्यत्मिक विकासमा टेवा पु¥याउने उद्देश्यले लुम्बिनीमा दोस्रो पटक अन्तर्रराष्ट्रिय त्रिपिटक चान्टिङ हुने भएको हो।

 ३ दिनसम्म हुने उक्त चान्टिङ (वाचन)मा बुद्ध बचनलाई जस्ताको तस्तै उतार गरिएको त्रिपिटक  विनय, सुत्त र अभिधम्म बाचन हुने त्रिपिटक चान्टिङ मुल आयोजक समितिका संयोजक तथा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महाथेरोले बताए।

त्रिपिटक बारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको बिशेष महत्व भएका कारण नेपालमै गत वर्षबाट बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन सुरु गरिएको मैत्रीले बताए। मायादेवी मन्दिर पवित्र उद्यान भित्र गर्न लागिएको चान्टिङमा नेपालसहित थाइल्याण्ड, कम्बोडिया, चिन भियतनाम, कोरिया, जापान लगायत विभिन्न २५ देशका एक हजार भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी हुने आयोजकले जानकारी दिइएका छन्।

अभिधम्म पिटक, सुत्त पिटक, विनय पिटक गरि त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोश्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो।

कात्तिक २८ देखि ३० गतेसम्म हुने चान्टिङमा पहिलो दिन सुत्रपिटकको वाचन हुनेछ, वाचन गरिएको त्रिपिटकलाई सहभागी भिक्षुहरुले आ– आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्ने छन्।नेपाली भिक्षु सुत्रपिटकमा दक्ष भएकोले नेपाली भिक्षुबाट पहिलो दिनको सुरुवात हुनेछ भने सोही दिन लाओस र श्रीलंकाका भिक्षुहरुले पनि सुत्रपिटक वाचन गर्ने छन्।

दोस्रो दिन अभिधम्म पिटकको वाचन बर्माका भिक्षुको नेतृत्वमा सुरुवात हुन्छ, अभिधम्म पिटकमा बर्मेलीहरु दक्ष भएकोले बर्मेली भिक्षुबाट सुरुवात गरी कोरियन, नेपाली, र्चानिज, जापान र भियतनामका भिक्षुहरुले पनि वाचन गर्ने छन।  त्यस्तै तेस्रो तथा अन्तिम दिन थाई  तथा कम्बोडियन भिक्षुुले विनयपिटक वाचनको नेतृत्व गर्नेछन्। थाई र कम्बोडियनहरु यसमा दक्ष भएकोले उनीहरुबाट सुरवात गरी १२५ जना बज्रायन भिक्षु, नेपाली गुरुआमा, क्यानाडाका गुरुआमाहरुले वाचन गरी सोही दिन मायादेवी मन्दिर परिसरमा दीप प्रजवलन गरी कार्यक्रमको समापन हुने सचिव हेमबहादुर विष्टले जानकारी दिए।

बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिनुभएका प्रवचन सङ्ग्रह त्रिपिटक हो यो बौद्ध धर्मको प्रमुख ग्रन्थ पनि हो। बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलङ्कासहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गरेका थिए। गौतमबुद्धको महापरीनिर्वाणपछि विभिन्न सङ्घमार्फत बुद्ध वचनलाई एक सूत्रमा सङ्ग्रह गरिएको त्रिपिटक पालि भाषामा लेखिएको भएपनि विभिन्न भाषामा अनुवाद गरिएको छ।

बिगत १५ बर्ष देखी भारतमा मात्र भैरहेको यो आध्यत्मिक कार्यक्रले लुम्बिनीको आध्यत्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहल पहलमा थप टेवा पुग्ने विश्ववास गरिएको छ।

चान्टिङअघि तीन दिने पदयात्रा

चान्टिङकै अवसरमा लुम्बिनीसहित बुद्ध सर्किट क्षेत्रमा ३ दिने शान्ति पदयात्रा हुनेछ। पहिलो दिन कत्तिक २५ गते भैरहवादेखि रामग्रामसम्म शान्ति पदयात्रा हुनेछ। २५ किलोमिटरको पदयात्रा भैरहवाको शान्ति बुद्ध गुम्बा देखि सुरुवात गरी बैकुण्ठपुर, धकधई, अमुहवार,सुकरौली, परासी हुदै रामग्राम स्तुपा जानेछन।  दोस्रो दिन २६ गते भैरहवादेखि लुम्बिनीासम्म पदयात्रा हुनेछ।

२९ किलोमिटरको सो पदयात्रा भैरहवाको शान्ति बुद्ध गुम्बाबाट सुरुवात भई मर्चवारको बाटो गैरघाट, मर्यादपुर, मझगावा, सिपवा, लक्ष्मीपुर, हुदै फुलमुनको समय साँझ मायादेवी मन्दिर परिसरमा पूर्णिमा उत्सव मनाइनेछ। तेस्रो दिन तथा पदयात्राको अन्तिम दिन लुम्बिनी देखि कपिलबस्तु सममको २८ किलोमिटर पदयात्रा हुनेछ।

लुम्बिनीको शान्ति स्तुपा देखि सिसहनिया पकरी बजार, जमुहार, कपिलवस्तु थाईविहार हुदै तिलौराकोटसम्म पदयात्रा गरी समापन हुने आयोजक समितिले जानकारी दिइएको छ। पदयात्रामा भिक्षु, गुरुआमा, बौद्ध उपासक उपासिकाहरुको सहभागिता हुनेछ भने स्थानिय विभिन्न क्षेत्रका व्यक्तित्वहरुको पनि सो पदयात्रामा सहभागिता हुनेछ।

प्रकाशित: २४ कार्तिक २०७६ ०६:५१ आइतबार

लुम्बिनी त्रिपिटक_वाचन