समाज

मातृभाषा शिक्षक नियुक्ति विवाद चर्केको चर्कै

फाल्गुनन्द गाँउपालिकाको केन्द्र पञ्चमी बजारमा मातृभाषा शिक्षक नियुक्ति रोक्न मुद्धा लगाइएको भन्दै समाजवादि पार्टीले गरेको विरोध प्रर्दशन। तस्विर : गिरिराज बाँस्कोटा/नागरिक

पाँचथर- जिल्लाको फाल्गुनन्द गाँउपालिकाले विद्यालयमा ऐच्छिक बिषयको रुपमा मातृभाषा पढाउनका निम्ति शिक्षक नियुक्ति गर्ने विषय विरुद्ध उच्च अदालत इलाममा रिट दर्ता भएपछि विवाद चुलिदै गएको छ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का गाँउपालिका सचिव समेत रहेका सद्वेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रकुमार नेम्बाङले उच्च अदालतमा रिट दर्तासँगै माहोल निक्कै तातिएको छ।

भाषा तथा संस्कृतिको क्षेत्रमा काम गर्नेहरुले मातृभाषाको विकासका लागि गरिएको कामको ठाडो प्रहार भएको भन्दै आलोचना गरीरहेका छन् भने विभिन्न राजनीतिक दलहरुले पनि चर्को विरोध गरेका छन्।  विभिन्न विद्यालयमा भएको शिक्षक नियुक्तिलाई तत्काल कार्यान्वयन गर्न भन्दै अदालतले अन्तरीम आदेश जारी गरेको छ। यता किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति, समाजवादि पार्टी, संघिय लिम्बुवान पार्टी पाँचथरले विज्ञप्ती निकालेर चर्को विरोध जनाएका छन्।

यसैबिच शनिबार समाजवादि पार्टी फाल्गुनन्द गाँउपालिकाको केन्द्रमा विरोध प्रर्दशन पनि भएको छ। समाजवादिका नेताहरुले भाषा माथिको प्रहार भएको भन्दै विरोध प्रर्दशन गरेको जनाएका छन्। उनीहरुले नारावाजी गर्दै विरोध  र्‍याली निकालेका थिए। र्‍यालीपछि आयोजित कोणसभालाई नेताहरुले सम्बोधन गरेका थिए। मातृभाषा विरुद्धको प्रहारले विरोध प्रर्दशन गर्नु परेको समाजवादिका नेता टिका नेम्बाङले बताए।

उप–निर्वाचनको मुखमा जिल्लाको फाल्गुनन्द गाँउपालिकामा विद्यालयमा मातृभाषा शिक्षक नियुक्तिको विवाद चर्किएको छ। नेपाली काङग्रेस लगायतका राजनीतिकदलहरुले विरोध जनाउदै आएका थिए। तरुणदलले आयोजना गरेको सभामा बोल्दै काङग्रेसका नेता गगन थापाले देशभरी नमुनाको रुपमा प्रस्तुत हुने गरी अगाडी बढाईएको कामलाई अवरोध गर्नु नहुने बताएका थिए। ‘स्थानीयतहले भाषाका लागि गरेको यो महत्पूर्ण काम थियो। देशभरी नमुना हुन्थ्यो। यो सारै ठुलो भुलभयो’ थापाले भने।

गाँउपालिकाले शिक्षा नियमावली बनाएर ऐच्छिक विषयको रुपमा लिम्बु, राई र तामाङ भाषा पढाउनका लागि अनुदान उपलब्ध गराएको थियो। नियम विपरीत शिक्षक नियुक्तिलगायतको काम भएको भन्दै उच्च अदालतमा रिट दर्ता भएको थियो। निर्वाचनको मुखमा भाषा विवाद चर्किएको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाँउ कमिटि सचिव रहेका नेम्बाङले रिट दर्ता गरेको भन्दै नेपाली काङग्रेस लगायका दलका कार्यकताले आरोप लगाएसँगै यो विषय तात्दै गएको छ। फेसबुकलगायतका सामाजिक सञ्जालमा चर्को विरोध भईरहेको छ। यो गाँउपालिकामा बहुमतको नेतृत्व काङग्रेसको रहेको छ। देश तथा विदेशमा रहेकाहरुले मातृभाषा शिक्षा पढाउने विषयमाथि गम्भीर रुपमा प्रहार भएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरीरहेका छन्।

नेम्वाङले गाँउपालिका कार्र्यवाहक प्रमुख देवित्रा आङ्देम्बे, प्रमुख प्रशासकिय अधिकृत अनिल खत्री, शिक्षा समितिका संयोजक नारायण आङदेम्बे, भाषा शिक्षक नियुक्ति भएका ७ विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रध्यानाध्यापक सहित गरी ४४ जना विरुद्ध रिट दर्ता गराएका थिए।

चालु आर्थिक बर्षमा यहाँका १६ विद्यालयमा भाषा शिक्षक नियुक्ति गर्ने भनेर गाँउपालिकाले काम अघि बढाएको थियो। यो मध्ये ७ विद्यालयमा शिक्षक नियुक्ति भएको छ। एक विद्यालयमा मुद्धा परेपछि नियुक्ती प्रक्रिया रोकेको छ। सात विद्यालयले सूचना प्रकाशन गरेपनि बिचैमा शिक्षक नियुक्ति प्रक्रिया रोकेको छ। सात विद्यालयका अध्यक्षले ज्ञापनपत्र बुझाउदै व्यवस्थापन समितिको अधिकार खोसेको भन्दै सयुक्त रुपमा प्रक्रिया स्थगत गरेको जनाएका थिए।

गतबर्ष ९ विद्यालयमा भातृभाषा कार्यान्वयन भएको थियो। सरकारी स्वीकृत दरबन्दीमा नभई गाँउपालिकाले अनुदान दिएर शिक्षक नियुक्तिको काम गरेको प्रमुख प्रशासकिय अधिकृत अनिल खत्रीले भने।

मातृभाषा शिक्षा कार्यान्वन विरुद्ध नभई नियुक्ति प्रक्रियामा असहमती जनाएर रिट दर्ता गरेको उजुरीकर्ता इन्द्रकुमार नेम्बाङले बताए। विद्यालय व्यवस्थापन समितिको अधिकार खोस्न खोजेको तथा प्रक्रियागत नभएकाले उजुरी गरीएको दावी गरे। काङग्रेस लगायतका दलहरुले नेकपालाई दोष लगाईरहेका छन्।

नेकपाले भने पार्टीको कुनै संलग्नता नभएको दावी गरेको छ। गाँउपालिकाले मातृभाषा शिक्षा सञ्चालनका लागि गाँउपालिकाले आधारभूत विद्यालयमा मासिक १२ हजार र माध्यमिक विद्यालयमा १४ हजार रुपैयाँ अनुदान दिएको छ।

 

प्रकाशित: २३ कार्तिक २०७६ ११:५१ शनिबार

मातृभाषा नियुक्ति विवाद