समाज

दैलेखमा नगर बस सञ्चालन

चामुण्डाविन्द्रासैनी नगरपालिकाले सञ्चालनमा ल्याएको नगर बस। तस्विर : नागरिक

दैलेख– चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगरवासीहरुलाई सहज होस् भनेर नगर बस संचालनमा ल्याएको छ। कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई सहज बनाउने उद्देश्यले नगर बस संचालनमा ल्याएको हो।

नगर बस संञ्चालनमा आएपछि स्थानीयहरुमा खुसीयाली छाएको छ। नगरपालिकाभित्र सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले नगरपालिकाले नगरवासीलाई आउजाउ गर्न सहज होस् भनेर नगर बस सञ्चालनमा ल्याएको हो। चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले पालेतडादेखि तीजडासम्म नगर बस संञ्चालन गरिएको जानकारी दिएका छन्।

नगरपालिका भौगोलिक बनावट पनि लामो भएकाले एक तर्फ सवारी सञ्चालनमा ल्याईने जनाइएको छ। नगरका पालेतडा तथा पाल्त क्षेत्रका सर्वसाधारणमा यातायात सेवा सहज बनाउने उद्देश्यले नगर बस सेवा संचालन गरेको नगर प्रमुख शाहीले बताए।

नगरपालिकाका प्रायजसोः सबै वडाहरु सडक सञ्जालसंग जोडिसकेको र गाउँमा तत्काल खोजेको समयमा गाडी नपाउने र सानै कामका लागि पनि गाडी रिर्जब गरेर नै जानुपर्ने भएकाले गरिब, असहाय र असक्तका लागि गाडी रिर्जब गर्न निकै गाह्रो हुने गरेकोले पनि नगर बस सञ्चालनमा ल्याइएको नगर प्रमुखको भनाई भनाई छ।

‘नगर बसले सुलभ टिकट दरमा सबै नगरवासीलाई सेवा प्रदान गरेका छाैं। नगर प्रमुख शाहीले भने, हरेक दिन निर्धारित समयमै नगरवासीलाई पायक पर्ने स्थानमै बस आउने छ।’ नगरसभा र नगरकार्यपालिकाको बैठकबाट नगरवासीहरुको यातायातमा सहजताका लागी नगर बस संचालनमा ल्याउने निर्णय अनुरुप नै नगर बस संचालनमा ल्याइएको हो। जेष्ठ नागरिक, बाल–बालिका र अपांगता भएका व्यक्तिहरु निःशुल्क सेवा प्रदान गरिने नगर पालिकाले जनाएको छ।

लामो तथा छोटो दुरीका जीपहरुमा महिला, बाल–बालिका, वृद्धवृद्धा, अपांगता तथा सर्वसाधारण व्यक्तिले सहज र सस्तो रुपमा सेवा नपाउने भएपछि नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगर सभाबाट ३५ लाख बजेट विनिजोजित गरि नगर बस संचालनमा ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिए। उनले नगर क्षेत्रका जनतालाई सहुलियत यातायातको निकै समस्या भएकोले नगर बस सञ्चालनमा ल्याएको बताए।

नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म नगर बस सञ्चालन गरिने नगरपालिकाले जनाएको छ। सहुलियत भाडा दर कायम गरी नगरपालिकाले २१ सिट क्षमता भएको बस संचालनमा ल्याएको हो। नगर बसको विभिन्न रुटको भाडादर निर्धारण गरिने र टिकट अनिवार्य गरिने बताइएको छ।

 

 

प्रकाशित: २२ कार्तिक २०७६ ०९:४४ शुक्रबार

सहुलियत नगर_बस सञ्चालन