समाज

सेनामा नक्कली प्रमाणपत्र छानबिन

काठमाडौं - नेपाली सेनाभित्र नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया अघि बढेपछि दुई उच्च अधिकारीले पदबाट राजीनामा दिएका छन्। सेनामा लामो समयसम्म लेखा प्रमुखको जिम्मेवारीमा रहेका उपरथी भुवन अधिकारी र सिरिया फोर्स कमाण्डको अस्थायी नियुक्ति पूरा गरी फर्केका उपरथी शिवराम खरेलले राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनीहरूको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा जंगी अड्डामा परेको उजुरीमा छानबिन भइरहेको छ।

अधिकारीको राजीनामापत्र मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। उनीमाथि शक्तिको आडमा लामो समयदेखि लेखा प्रमुखमा रहेर आर्थिक अनियमितता गरेको आरोपसमेत लागेको छ। पूर्णचन्द्र थापाले सेनाको नेतृत्व समालेपछि बजेट खर्च सञ्चालनसम्बन्धी छुट्टै कार्यविधि बनाएर अधिकारीलाई आर्थिक दायित्वबाट अलग राखेको स्रोत बताउँछ।
अधिकारी बलाधिकृत रथी शरद गिरी निकट मानिन्थे। अधिकारीले स्टाफ कलेज तालिम पास नगरी पहुँचका आधारमा उपरथी बन्ने मौका पाएको सेनाका उच्च अधिकारी बताउँछन्। नेपाली सेनामा उपरथी बन्न स्टाफ कलेज पास हुनु अनिवार्य मानिन्छ।

नेपाली सेनामा उच्च सैन्य अधिकारीको नागरिकता तथा शैक्षिक प्रमाणपत्र छानबिन भावी प्रधानसेनापतिका रुपमा हेरिएका उपरथी प्रभुराम शर्माको नेतृत्वमा भइरहेको छ। सेनाले संगठन सुधार योजना अनुसार नक्कली प्रमाणपत्रधारीलाई स्वेच्छिक राजीनामा दिएर सम्मानपूर्वक सेवाबाट बिदा हुने अवसर दिने र स्वेच्छिक अवकाश नलिए सेवाबाट बर्खास्त गरी जेल चलान गर्ने जनाउँदै आएको छ।

सेनाले आर्थिक अनियमितता गरेको आशंकामा काठमाडौं–तराइ÷मधेस दु्रत मार्गका तत्कालीन प्रमुख (हाल अवकाशप्राप्त) उपरथी योगेन्द्र खाँडमाथि पनि छानबिन भइरहेको जनाएको छ। उनीमाथि सैनिक कोर्ट अफ इन्क्वायरीमा छानबिन अन्तिम चरणमा पुगेको सैनिक उच्च स्रोतले जनाएको छ। उच्च सैनिक स्रोतका अनुसार राजीनामा दिएका उपरथी अधिकारीमाथि पनि आर्थिक अनियमिततामा छानबिनको तयारी भइरहेको छ।

बलाधिकृत रथी गिरीमाथि पनि महासेनानीको पदोन्नतिमा नियम मिचेको आरोप लाग्दै आएको छ। उनले गत वर्ष महासेनानीको पदोन्नतिमा स्टाफ कलेज अनुत्तीर्ण जुनियर अधिकारीलाई सिफारिस गरेर ज्येष्ठ र योग्य प्रमुख सेनानीलाई पाखा लगाएको आरोप पनि लागेको छ। प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरे पनि दोस्रो पोजिसनमा रहेका गिरीले भने हालसम्म आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन्।
सेनाले नागरिकतामा उमेर सच्याएर जागिर खाइरहेको भन्दै सैनिक सामग्रीतर्फका उपरथी अजितवरसिंह थापा तथा आर्थिक अनियमितताको आरोपमा सेनाको हवाई विभागका प्रमुख सुधिर श्रेष्ठमाथि पनि छानबिनको तयारी गरेको स्रोत बताउँछ।

प्रधानसेनापति थापाले जिम्मेवारी सम्हालेको पहिलो भाषणमै नक्कली प्रमाणपत्र र किर्ते नागरिकता पेस गर्ने तथा आर्थिक अनियमितता गर्नेमाथि कठोर ढंगले प्रस्तुत हुने संकेत गरेका थिए। उनले जिम्मेवारी समालेपछिको एक वर्षको अवधिमा सेनाभित्र अनियमितता तथा आचरणविपरीत काम गर्ने एक हजारभन्दा बढी कारबाहीमा परिसकेका छन्।
संगठनको जिम्मेवारी सम्हालेको पहिलो एक वर्षलाई संगठनको विकास र सुधारको आधार वर्ष घोषणा गरेका प्रधानसेनापति थापाले आगामी दुई वर्षलाई योजना कार्यान्वयनको अवधि तोकेका छन्। थापाले नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा भ्रष्टाचार नियन्त्रणका निरीक्षण अधिकृतको अध्यक्षतामा विशेष संयन्त्र गठन गरेका थिए। उक्त संयन्त्रले सैन्य अधिकारीको आर्थिक गतिविधिमाथि अनुसन्धान गर्न सक्ने सेनाले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७६ ०२:३१ शुक्रबार

नक्कली_प्रमाणपत्र राजीनामा