समाज

विदेशीलाई तान्यो ‘बुङमती’ले

काठमाडौं - हाकुपटासीमा सजिएका बूढी आमाहरू पिढीमा पलेटी कसेर मकैको पोस्करले गुन्द्री बुन्दै छन्। उमेरले परिपक्व देखिने बूढाहरू एकोहोरो धिमे बाजा पिट्दै छन्। अलि खाइलाग्दा उमेरकाले काठका झ्यालढोकामा बुट्टा भरेर कलरहेका छन्। घर गासिँएझंै देखिने साघुँरा गल्लीबाट भित्र छिर्दाको दृश्य भने अझ बेग्लै थियो। घरको बतासीमा धागोमा झुन्डिएका राता खुर्सानी। दाल, मकै, धान, तोरी, रायोको सागलगायत तल गुन्द्रीभरि फिँजाइएको छ। ठाउँठाउँमा लोभलाग्दा हस्तकलाका सामग्री टाँगिएका छन्। बिहीबार खोकना पुगेका विदेशी पाहुनाको ध्यान यिनै दृश्यतिर खिचियो।

लडेका घर अझै उभिएका छैेनन् तर टहरोमा बसेका स्थानीयले गरेको स्वागत–सत्कार देख्दा विदेशी पाहुना छक्क परे। भूकम्पबाट घर त्यागेर टहरामा सरेका पीडितले देखाएको सौहार्दताप्रति उनीहरू अचम्भित मात्रै बनेनन्, गम्भीर पनि भए। यस्तो दृश्य देखेपछि ललितपुरमा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँगसँगै हिड्ेका सिटी–नेटका महासचिव विजय जगन्नाथनले खुसी हुँदै प्रतिक्रिया जनाइहाले, ‘आहा ! ललितपुर साँच्चै सुन्दर रहेछ, मैले यस्तो राम्रो जीवनशैली कहिल्यै देखेको थिइनँ, क्या भद्र रहेछन् यहाँका मानिस।’

उनी मात्रै होइन, एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत सरोकारवालाहरू आबद्ध रहेको संस्था ‘सिटी–नेट’ को ३८ औं कार्यसमिति बैठकमा भाग लिन नेपाल आएका विदेशी पाहुनाहरूले ललितपुरको ऐतिहासिक बुङमती बस्ती अवलोकन गर्दा निकै अनौठो अनुभव गरे। नेपालको नेवारी रैथाने गाउँमा पुगेर त्यहाँको प्रत्यक्ष जनजीवन नियाल्दा उनीहरूले नयाँ अनुभव सँगालेको प्रतिक्रिया दिए।

दिउँसो तीन बजे बुङमती पुगेका पाहुनाहरूलाई स्थानीयले धिमे बाजा र बाँसुरीसहित स्वागत गरेका थिए। नेवारी संस्कृति झल्कने बाजा–खाजा र जीवनशैलीले उनीहरूलाई बुङमतीले तानिरहेको थियो। विदेशीलाई बुङमतीको महŒव देखाउन स्थानीयले विभिन्न दृश्यहरू देखाइरहेका थिए। बुङमतीको कला, संस्कृति, पेसा र भेषभूषाले विदेशीलाई तानिरहेको थियो। उनीहरू फर्कीफर्की बुङमतीलाई नियालिरहेको देखिन्थे। एकैठाउँ गुजुप्प घर भएका भित्री बस्तीमा फरक विशेषता र घरैपिच्छेको फरक–फरक उत्पादन देखेर विदेशीहरूले विभिन्न जिज्ञासा राखेका थिए। ललितपुर महानगरपालिका जनप्रतिनिधि र कर्मचारीले उनीहरूलाई बुङमतीको ऐतिहासिकता र महत्वबारे बुझाउँदै अगाडि बढाइरहेका थिए। पर्यटनविद् दीलेन्द्रराज श्रेष्ठले बुङमती पुग्दा विदेशीहरू निकै लोभिएको बताए। ‘उपत्यकाका कला संस्कृति देखेर विदेशीहरू बढी लोभिएका छन्, यो सन्देश उनीहरूमार्फत अरू देशमा पुग्छ।’

पाहुना पुग्नअगाडि चोकचोकमा स्थानीय दाफा भजन, धिमे बाजा, बाँसुरीको धुनसहित स्वागत गर्न बसेका थिए। बुङमतीको रैथाने पेसा चिउरा बनाउने ओखल, लोकल ऐला (रक्सी) बनाउँदै गरेको दृश्य पनि देखाइएको थियो। बुङमती अवलोकनपछि पाहुनालाई कार्यविनायक मन्दिर दर्शन गराइएको महानगरकी उपमेयर गीता सत्यालले बताइन्। ‘विदेशी पाहुनालाई हामीले नेपालका कला–संस्कृति देखायौं, यसले हाम्रा सम्भावनालाई अन्य देशहरूमा चिनाउन मुख्य भूमिका खेल्नेछ,’ उनले भनिन्।

बस्ती अवलोकनपछि पाहुनालाई ऐतिहासिक बस्तीको बीचमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर पनि अवलोकन गराइएको थियो। रातो मच्छिन्द्रनाथ मन्दिर श्रीलंका सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण कार्य अघि बढेको थियो। मेयर चिरिबाबु महर्जनले यो वर्ष सिटी–नेटको बैठकमा सम्पदा र दिगो पर्यटन भएकाले विदेशी पाहुनालाई सम्पदा क्षेत्र अवलोकन गराइएको जानकारी दिए।

बुधबार ललितपुर महानगरपालिकाले विदेशी पाहुनालाई ललितपुरको पुरानो भित्री सहर पाटन मंगलबजार अवलोकनसँगै ‘इभिनिङ वाक’ गराएको थियो। साँझपख मंगलबजारमा सुरु भएको ऐतिहासिक कात्तिक नाचसमेत विदेशी पाहुनाले प्रत्यक्ष नियालेका थिए। नेपालको भ्रमणमा रहेका विदेशी पाहुनाहरूले नेपाल भ्रमणबाट निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

सिटी–नेट सन् १९८७ मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्थाहरू आबद्ध भएको संस्था हो। यसले सहरलाई विकसित र समृद्ध बनाउनका लागि नेतृत्व गरिरहेका नेतृत्वकर्ताहरूको क्षमता अभिवृद्धि गर्न सहयोग गर्छ। यसमा विभिन्न देशका एक सय ३० नगरपालिका आबद्ध छन्। त्यसमा आबद्ध नगर र संघसंस्थाहरूबीच असल अभ्यास र अनुभवहरू आदानप्रदान गर्ने गरिन्छ। हाल नेपालका काठमाडौं, भरतपुर, विराटनगर र पोखरा महानगर तथा वीरगन्ज, धरान, हेटौंडा र नेपालगन्ज उपमहानगर सिटी–नेटमा जोडिएका छन्। गोदावरी, महालक्ष्मी र तानसेन नगरपालिका सामान्य सदस्य छन्।

प्रकाशित: २२ कार्तिक २०७६ ०१:५३ शुक्रबार

विदेशी बुङमती