समाज

'विज्ञापन एजेन्सी सामाजिक सुरक्षा कोषमा आवद्ध नभए सरकारी सुविधा राेक्ने तयारी'

काठमाडौं- सरकारले सबै विज्ञापन एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन दिएको छ। सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सबै विज्ञापन एजेन्सीहरुलाई निर्देशन दिएकी हुन्।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था बाध्यकारी भएको उल्लेख गर्दै उनले त्यसमा आवद्ध नहुने विज्ञापन एजेन्सीहरुलाई सरकारी विज्ञापनसमेत नदिने निर्णय गरिएको पनि स्पष्ट पारिन। बिहीबार काठमाडौंमा आयोजित सामाजिक सुरक्षा कोष अभिमुखिकरण’ कार्यक्रममा बोल्दै प्रवक्ता भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनै पनि ंसंस्थाको नविकरण नगर्ने तथा उनीहरुलाई सरकारबाट हुने कुनै पनि सेवा र सुविधा समेत नदिने तयारी गरिएको पनि बताएकी हुन्।

सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनै पनि विज्ञापन एजेन्सीलाई सरकारी विज्ञापनसमेत नदिने बाध्यकारी व्यवस्था गरिएको छ,’ प्रवक्ता भट्टराईले भनिन् ‘यसमा आवद्ध नहुने कुनै पनि संस्थाको नविकरण र ‘ट्याक्स क्लियरेन्स’ लगायतका काम समेत नगर्ने तयारी पनि सरकारले गरेको छ।’ उनले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका संस्थालाई काम गर्न अनुमति दिन नसकिनेतर्फ पनि सचेत गराइन्।

कोषले रकम अभावमा परेका संस्थाहरुलाई भने सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सहजता प्रदान गर्ने पनि जनाएको छ। कोषकी प्रवक्ता भट्टराईले संस्थाको आम्दानीलाई हेरेर सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था पनि गरिएको बताइन्। कार्यक्रममा बोल्दै नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै विज्ञापन एजेन्सीहरुको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: २१ कार्तिक २०७६ ०९:५३ बिहीबार

सामाजिक_सुरक्षा_कोष विज्ञापन_एजेन्सी