समाज

भारतविरुद्ध अर्घाखाँचीमा प्रदर्शन

भारतीय नक्साको विरोधमा सन्धिखर्कमा भएको प्रदर्शन।

अर्घाखाँची– भारतले जारी गरेको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश गरेको विरोधमा सन्धिखर्कमा प्रदर्शन भएको छ।


भारतले नेपालको भुःभाग भारतीय नक्सामा राखेको विरोधमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु, कांग्रेस सम्बद्ध नेबिसंघ र जनमोर्चा निकट अनेरास्ववियु (छैठौं) लगायतका विद्यार्थी संगठनले बिहीबार बिहान संयुक्तरुपमा विरोध र्याली आयोजना गरेका हुन्।

विद्यार्थीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘गो ब्याक इन्डिया’ लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका थिए। र्याली सन्धिखर्कको पाणिनी क्याम्पसबाट बजार परिक्रमा गरी शान्ती बगैंचामा आई कोणसभामा परिणत भएको थियो। 

सभामा विद्यार्थीहरुले भारतको हेपाहा प्रवृत्ती आफुहरुलाई मान्य नहुने बताए। उनीहरुले नक्सा नसच्याउँदासम्म चुप लागेर नबस्ने चेतावनी दिएका छन्। 

 

प्रकाशित: २१ कार्तिक २०७६ ०८:०८ बिहीबार

प्रदर्शन लिपुलेक अर्घाखाँची