समाज

अख्तियारले महानगरपालिकालाई भन्यो– ब्रुमर र डस्टबिन खरिदकोे कागजात ७ दिनमा बुझाऊ

काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ब्रुमर र स्मार्ट डस्टबिन खरिदको कागजात सात दिनमा बुझाउन काठमाडौं महानगरपालिकालाई पत्र काटेको छ।

यसअघि प्राप्त कागजातबाट तथ्य र प्रमाण नखुलेको भन्दै अख्तियारले महानगरपालिकालाई खरिद कागजातको प्रमाणित प्रतिलिपि बुझाउन पत्र काटेको हो।

अख्तियारले महानगरपालिकालाई पठाएको पत्रमा भनिएको छ, ‘महानगरपालिकाले गत असोज २९ को पत्र तथा पत्रसाथ संलग्न कागजात प्राप्त भई व्यहोरा अवगत भयो। प्राप्त कागजातबाट सबै तथ्य प्रमाण खुल्न नआएको हुँदा ब्रुमर खरिदसँग सम्बन्धित सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि ७ दिनभित्र अख्तियारको अनुसन्धान महाशाखामा उपलब्ध गराइदिनु हुन अनुरोध छ।’

अख्तियारले स्मार्ट पार्किङ, विद्युत पोलमा विज्ञापन बोर्ड, स्मार्ट सोलार डस्टबिन, सिसी टिभी क्यामेरा सहितको ट्राफिक लाइट जडान खरिदको पनि कागजात मागेको छ।

प्रकाशित: २१ कार्तिक २०७६ ०२:२४ बिहीबार

अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग महानगरपालिका ब्रुमर डस्टबिन