समाज

‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम सञ्चालन हुने

फाइल तस्वीर

काठमाडौं– सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ। राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो। 

परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सबै क्षेत्रका युवाका नीतिगत समस्यालाई एकै थलोबाट प्रधानमन्त्रीलाई प्रत्यक्ष संवाद गरी जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गर्न लागिएको जानकारी गए। 

परिषद्ले उद्योग, राजनीति, कृषि, वैदेशिक रोजगारबाट फर्किएका युवा, गैरसरकारी संस्था, वैज्ञानिक, उद्यमीलगायत क्षेत्रमा काम गर्ने युवासँग छलफल गरेर उनीहरुका समस्या पहिचान गर्नेछ। 

‘विभिन्न क्षेत्रमा आएका युवाका समस्यालाई एकै मञ्चमा सिधै प्रधानमन्त्रीसँग राखिने छ’, उपाध्यक्ष ढुङ्गेलले भने,‘प्रधानमन्त्रीले समेत उक्त मञ्चबाट युवाका समस्यालाई सम्बोधन गर्नुहुने छ।’ परिषद्का उपाध्यक्ष ढुङ्गेलले युवा नीति सुधारमा सिधै प्रधानमन्त्रीसँग छलफल गर्नका लागि कार्यक्रम गर्न थालिएको बताए। 

‘युवाका नीतिगत समस्या धेरै नै रहेका छन्’ उनले भने, ‘ती नीतिगत समस्यालाई सिधै समाधान गर्नका लागि युवासँग प्रधानमन्त्री कार्यक्रम सञ्चालन गरिएको हो।’ प्रधानमन्त्रीलाई प्रत्यक्षरूपमा भेटेर युवाका समस्या राख्नका लागि कार्यक्रम गरिएको परिषद्का उपसचिव ध्रुवराज पौडेलले जानकारी गराए।

युवा र प्रधानमन्त्रीबीच युवाका सवालमा प्रत्यक्ष संवाद र अन्तर्क्रियाको अवसर सिर्जना गर्नु कार्यक्रमको उद्देश्य रहेको छ। युवासँग प्रधानमन्त्री कार्यक्रममा एउटा निश्चित स्थानमा विभिन्न क्षेत्रका करीब ५० जना युवा सहभागी हुनेछन्। आगामी माघमा गरिने उक्त कार्यक्रमका लागि परिषद्ले विभिन्न क्षेत्रका युवासँग छलफलसमेत गरेको छ। रासस

प्रकाशित: २० कार्तिक २०७६ ११:१८ बुधबार

युवासँग_प्रधानमन्त्री राष्ट्रिय_युवा_परिषद्