समाज

गढीमाई मेला सभ्य बनाउन सहमति

बारा – जिल्लाको बरियारपुरस्थित विश्वमा एकैपटक सबैभन्दा बढी पशु बलि दिइने गढीमाई पञ्चवर्षीय मेलालाई भव्य र सभ्य बनाउने विषयमा महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच सहमति भएको छ।

मंसिर १ गतेदेखि एक महिनासम्म लाग्ने उक्त मेला नजिकिँदै जाँदा नगरपालिका र मन्दिर समितिबीच मेला लगाउने विषयमा विवाद बढेको थियो। विवादले मेला प्रभावित हुने भएपछि दुवै पक्ष यसलाई भव्य र सभ्य बनाउन सहमत भएको जानकारी गराइएको छ।

बाराका प्रजिअ फणिन्द्रमणि पोखरेल र प्रहरी उपरीक्षक विकासराज खनालको मध्यस्थतामा महागढीमाई नगरपालिकाको कार्यालय बरियारपुरमा आइतबार रातभरि छलफल गरी दुवै पक्षले सातबुँदे सहमति गरेको जानकारी गराइएको हो।

महागढीमाई–१ का वडाध्यक्ष सुदामा साह कानूको अध्यक्षतामा गठित पञ्चवर्षीय गढीमाई मेला मूल व्यवस्थापन समितिमा मन्दिर सञ्चालन तथा विकास समितिबाट उपाध्यक्षमा दुईजनाको नाम समावेश गर्ने, मेलाबाट उठेको रकम व्यवस्थापन गर्न नगरपालिका र समितिका तर्फबाट दुई÷दुईजनाका नाममा संयुक्त बैंक खाता खोली सो खातामा मेलाबाट हुने आम्दानीको रकम राख्ने, मेला सञ्चालनका लागि गठित विभिन्न उपसमितिमध्ये मनोरञ्जन उपसमितिको गठन नगरपालकाका तर्फबाट जग्गा व्यवस्थापन उपसमितिको गठन सहमतिले गर्नेलगायत सातबुँदे सहमति भएको जनाइएको छ।

महागढीमाई नगरपालिका प्रमुख उपेन्द्रप्रसाद यादवले स्थानीय तहलाई प्राप्त अधिकारबारे मन्दिर सञ्चालन तथा विकास समितिका पदाधिकारीलाई राम्रोसँग जानकारी गराएपछि दुवै पक्ष मिलेर मेला भव्य र सभ्य रूपमा लगाउने सहमति भएको बताए।

दुवै पक्षबीच चलेको छलफलपछि भएको सातबुँदे सहमतिबाट मेलाबाट हुने आम्दानी खर्च नगरी त्यसकै भौतिक पूर्वाधारमा खर्च गर्ने र मेलामा आउने श्रद्धालुलाई खानेपानी, शौचालयलगायत सेवासुविधा दिने कार्यमा आ–आफ्नो क्षेत्रबाट लगानी गर्ने सहमति भएको यादवले जानकारी दिए। राजनीतिक स्वार्थ बोकेका बाहिरी मान्छेहरूले महागढीमाई नगरपालिकाका जनता लडाउन खोजे पनि नगरपालिका र समितिका पदाधिकारीको कुरा बुझेर गढीमाई मेलालाई राम्रोसँग लगाउन एक ठाउँमा आएको उनले बताए।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले यस वर्षको पञ्चवर्षीय गढीमाई मेलालाई अन्य वर्षको भन्दा राम्रोसँग लगाउन र मेलाबारे राम्रो सन्देश दिन नगरपालिकासँग सहमति गरिएको पत्रकार सम्मेलनमा बताए। दुवै पक्ष आपसमा मिलेर अगाडि नबढ्दा मेला विवादित रहिरहँदा त्यसले गढीमाईको मेलाको भविष्यलाई नै नराम्रो असर गर्ने भएकोले त्यसलाई ध्यानमा राखेर सात बुँदे सहमति गरी मेलामा समितिले सहयोग गर्न अघि बढेको अध्यक्ष साहले बताए।

पत्रकार सम्मेलनमा बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले महागढीमाई नगरपालिका र मन्दिर विकास समितिबीच मेला लगाउने विषयमा सहमति गराउन आफू देखावटी पात्र भए पनि गढीमाई प्रति आस्था राख्ने धेरैजनाले यसमा निरन्तर सहयोग गरेको बताए।

प्रकाशित: २० कार्तिक २०७६ ०३:१९ बुधबार

गढीमाई मेला सभ्य