समाज

अदालतमा आलमकाे बयान सुरू

रौतहट – राजपुर फरहदवा बम काण्डका मुख्य आरोपित मोहम्मद आफताव आलमको मंगलबारको बयान परिचयमै सकिएको छ। प्रहरीले आलमलाई बिहान सबा १० बजे जिल्ला अदालतमा उपस्थित गराए पनि बयान ३ बजेदेखि सुरु भएको थियो। ढिलोगरी सुरु भएको बयान परिचयभन्दा अघि बढ्न सकेन। परिचयकै क्रममा कार्यालय समय सकिएपछि बयानका लागि आलमलाई बुधबार फेरि अदालत उपस्थित गराइने छ।

आलमलाई दिउँसो १.१५ बजे जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा पेस गरिए पनि उनका कानुन व्यवसायीले मुद्दाको मिसिलको पूरै नक्कल प्रतिलिपि उपलब्ध गराउन भनेपछि बयान सुरु गर्न ढिला भएको हो। जिल्ला सरकारी वकिलको कार्यालयले ४० पेजको अभियोगपत्रसहित ८३३ पेजको मिसिलसहित सोमबार आलमविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो। आलम पक्षका कानुन व्यावसायीले मुद्दाको मिसिलको नक्कल प्रतिलिपि प्राप्त गरिसकेपछि बल्ल बयान सुरु भएको थियो। आलमतर्फका कानुन व्यावसायीले मिसिलमा संलग्न सम्पूर्ण कागजातको प्रतिलिपि उपलब्ध गराइ प्रतिवादीलाई ‘राइट टु काउन्सिलिङ’ का आधारमा काउन्सिलिङ गर्न दिइ बयान लिनुपर्ने भन्दै न्यायाधीश ढकाललाई लिखितरुपमै आग्रह गरेकाले प्रक्रिया ढिलो सुरु भएको रौतहट जिल्ला अदालतका स्रेस्तेदार गुणराज पराजुलीले बताए।

आलमलाई नौ प्रश्न,
परिचय दिँदैमा सकियो पहिलो दिनको कार्यालय समय

प्रतिवादी पक्षका कानुन व्यावसायीले मुद्दाको नक्कल प्रतिलिपि माग गरेकाले केहीबेर बयान कार्य स्थगित भएको जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए। कानुन व्यवसायीलाई प्रतिलिपि उपलब्ध गराएपछि सुरु भएको बयान झन्डै ४५ मिनेट चलेको जानकारी उनले दिए। उनका अनुसार आलमसँग न्यायाधीश ढकालले विभिन्न ९ वटा प्रश्न सोधेका थिए। आलमको परिचय तथा उनले कानुन व्यवसायी राखे नराखेसम्बन्धी जवाफ दिने क्रममा अदालतको कार्यालय समय सकिएकाले बाँकी बयान बुधबार लिइने कटुवालले बताए।

अभियोगपत्रमा आलमविरुद्ध सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएको छ। २०७४ सालमा आएको नयाँ मुलुकी अपराधसंहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था छैन। तर आलमको केस मुलुकी अपराधसंहिता लागू हुनुभन्दा पहिलाको भएकाले पुरानो मुलुकी ऐन २०२० अनुसार सर्वस्वसहित जन्मकैदक मागदाबी गरिएको हो। जिल्ला अदालत रौतहटमा दायर ०७६ सिए ००९५ दर्ता नम्बरको मुद्दामा आलमसहित एघार जनालाई प्रतिवादी बनाइएको छ। आलमलाई विष्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको अभियोग लगाइएको छ।

आलमसँग बयान लिइसकेपछि थुनछेक बहस हुने छ। पीडित तथा वादीको पक्षबाट दुई वरिष्ठ अधिवक्तासहित १२ कानुन व्यवसायीले बहस गर्ने भएका छन्। वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, दिनेश त्रिपाठीलगायतले पीडितको पक्षमा बहस गर्ने काठमाडौंबाटै बहस गर्न आएका अधिवक्ता पुष्पराज पौडेलले बताए। आसिकराम कार्की, गोविन्द शर्मा, रुद्र पोखरेल, कुमार शर्मा, राजकुमार महासेठ, ओमप्रकाश अर्याल, सतिसराज मैनाली, अमर राउतले पनि पीडितको पक्षमा बहस गर्ने पौडेलले बताए। आलमको पक्षमा २८ कानुन व्यवसायीले बहस गर्ने बुझिएको छ।

प्रकाशित: २० कार्तिक २०७६ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App