समाज

एकसय पन्ध्र परिवारका लागि एउटै धारा

फाइल तस्विर

जाजरकोट – त्रिपुरासुन्दरी नगरपालिका–२ रसी डोल्पाका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो। स्थानीय सिमखोलाको पानी खाइ रहेका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित बनेका छन्। स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुहार माग्दासम्म पानीको लागि सुनुवाइ नभएपछि रोकायलाई सबैदेखि दिक्क लागिसकेको छ।

सुक्खाडाँडामा रहेको तीन गाउँका करीब ११५ घरधुरी दैनिक खानेपानीको समस्यामा रहेका उनले बताए। बढ्दो वन विनास र भिरालो जमीन भएको रसीगाउँमा स्थानीय सिमखोलीबाट आधा घण्टा हिँडेर पानी ल्याएर पिउनुपर्ने बाध्यता छ। अहिले सोही खोलाको पानीसमेत सुक्दा तीन गाउँका स्थानीय पानीको चरम समस्यामा परेका अर्का स्थानीय दत्ते रोकायले बताए।  

सबै गाउँको संयुक्त एक खानेपानीको धारा छ। दिनभरि सोही धारामा मानिसको लाइनले गर्दा पालो कुर्दाकुर्दै घण्टौँ समय लाग्ने गरेको उनको भनाइ छ। भूगोलका हिसाबले निकै दुर्गम मानिएको यहाँ पानीकै कारण स्थानीयवासी चिन्तित छन्। नगरपालिकाले बस्तीस्तरको योजना छान्दा आफ्नो गाउँको खानेपानी वर्षौँदेखी छुटाउँदै आएको स्थानीयवासीको आरोप छ। 

खानेपानीकै अभावका कारण गाउँलेहरुले बसाइँ नै सार्ने अवस्था आएको स्थानीयवासी पवित्रा रोकायले बताए। कसैले पानीको समस्याबारे कुरा उठाउँदा पनि नसुनेको भन्दै उनले आक्रोश पोखे। नगरपालिकाको बजेटबाट सो ठाउँमा खानेपानी ल्याउन नसकिने अवस्था रहेको बताइएको छ। रासस

प्रकाशित: १९ कार्तिक २०७६ ०३:३४ मंगलबार

जाजरकोट खानेपानी धारा एकसय_पन्ध्र_परिवारलाइ