समाज

बाँदर मार्न बोकेको बन्दुक पड्किँदा किशोरको मृत्यु

ओखलढुंगा– बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्केर लाग्दा एक किशोरको ज्यान गएको छ। मोलुङ्ग गाउँपालिका–३ को थुम्की जंगलमा बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्किदा अष्ट बहादुर तामाङका १७ वर्षिय छोरा लालमान तामाङको ज्यान गएको हो।

आइतबार अन्य पाँच जना साथीसंग बन्दुक लिएर बाँदर मार्न जङ्गल गएका तामाङलाई अचानक बन्दुक पड्किएर लाग्दा गम्भीर घाइते भएका थिए। उपचारका लागि काठमाडौं लैजाने क्रममा सिन्धुलीको खुर्कोट पुग्दा बाटैमा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए।

सोही ठाउँका २१ वर्षिय चित्रबहादुर सुनुवारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनको भनाई छ। अन्य चार जना २२ वर्षिय सविन सुनुवार, वर्ष १७ का पदम सुनुवार, १६ वर्षिय सुन्दर तामाङ्ग र वर्ष २२ को रुकमान तामाङ्ग फरार छन्। उनीहको खोजी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी गई घटनाको विषयमा स्थलगत अनुसन्धान गरेको छ। 

सोही स्थान बाट दुई ओटा भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको विषयमा प्रहरीलाई खबरै नगरी तामाङ्गलाई उपचारका लागि उनका परिवारले काठमाडौं लगेका थिए। आधा बाटोमै उनको ज्यान गएपछि घर फर्काएर ल्याएको सूचनाका आधारमा उनको शवलाई सिद्धिचिरण नगरपालिका–११ रमाइलोडाँडा ओखलढुंगाबाट नियन्त्रणमा लिई पोस्टमार्टम र अन्य कानुनी प्रक्रिया पुर्याएर शवलाई परिवारको जिम्मा लगाइएको छ। 

प्रकाशित: १८ कार्तिक २०७६ १२:३७ सोमबार

भरुवा_बन्दुक बाँदर ओखलढुंगा मृत्यु