समाज

हतियारसहित दुई जना पक्राउ

हतियारसहित पक्राउ परेकालाई सार्वजनिक गर्दै मोरङ प्रहरी । तस्बिर/नागरिक

विराटनगर– मोरङको कटहरी—१ बाट हतियारसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कटहरी—२ का विक्कीकुमार भगत र मोरङ धनपालथान–७ कदमाहाका मुकेशकुमार मण्डल छन्।

छठ पुजाको अवसरमा सिंघिया खोला पूर्वतर्फको चौरीमा आयोजित ‘सांस्कृतिक साँझ तथा नृत्य कार्यक्रम’ स्थलबाट विक्कीकुमार भगतलाई हतियारसहित पक्राउ गरिएको थियो। भगतकै बयानका आधारमा मण्डललाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोरङ प्रहरी प्रमुख विश्व अधिकारीका अनुसार सांस्कृतिक कार्यक्रममा हुल हुज्जत भएको थियो। कार्यक्रममा हुलहुज्जत र ढुंगा प्रहार गर्नेहरूलाई पक्राउ गर्नेक्रममा विक्कीकुमार भगत पनि पक्राउ परेका थिए। उनको शरिर तलासी लिँदा उनको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन २ थान, पेस्तोलभित्र भएको म्यागेजिनमा लोड गरिएको अवस्थामा एउटा गोलिसमेत बरामद भएको प्रहरीले  जनाएको छ। यस्तै उनको साथबाट एउटा ट्याब्लेट र ५ वटा सिमकार्डसमेत बरामद भएको छ।

पक्राउ परेका भगतले पेस्तोल मुकेशकुमार मण्डलले बोक्न दिएको बयान प्रहरीलाई दिएपछि मण्डललाई पनि विराटनगरस्थित जलजला चोक क्षेत्रबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख अधिकारीले बताए। पक्राउ पर्ने मध्येको विक्कीकुमार २ वर्षदेखि विराटनगरस्थित एक कपडा पसलमा रोजगारी गर्दै आएको र अर्का मुकेशकुमार मण्डल उदयपुरको रामपुर ठोक्सिालस्थित एक लघुवित्त वित्तीय संस्थामा कार्यरत रहेको र हाल छठपर्व मनाउन विदामा रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

पेस्तोल कहाँबाट ल्याएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए। पक्राउ परेकाहरू विगत केहि समयदेखि अबैध हातहतियारको कारोबार गर्ने भारतीय र नेपाली नागरिकहरूसँग सम्बन्ध स्थापित गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरू अन्य अपराधिक क्रियाकलापमा समेत संलग्न भए नभएको विषयमा पनि अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। 

पक्राउ परेका दुवैको अदालतबाट म्याद थप गरी मुलुकी फौजदारी ऐन २०७४ बमोजिम अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०७६ १०:५६ सोमबार

हतियार पक्राउ