समाज

काठमाडौंमा रोकिएन डेंंगीको संक्रमण

काठमाडौं – काठमाडौं उपत्यकामा अझै डेंगी संक्रमण रोकिएको छैन। जाडोयाम सुरु भएपछि पनि डेंगी संक्रमण नरोकिएपछि चिकित्सक नै आश्चर्यमा परेका छन्। राजधानी काठमाडौंको कलंकी, कुलेश्वर, कालिमाटी, टेकु, बालाजु क्षेत्रमा डेगीं संक्रमित बिरामी भेटिएका छन्।

डेंगी संक्रमित भेटिएपछि सतर्कता अपनाउन चिकित्सकले अनुरोध गरेका छन्। ललितपुरको सानेपा तथा जावलाखेल र भक्तपुरमा पनि डेंगी संक्रमित फेला परेको चिकित्सकले बताएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल अनुसन्धान इकाइ संयोजक डा. शेरबहादुर पुनले अहिले दैनिक पाँचदेखि सात जनासम्म डेगींका बिरामीको चेकजाँच गरिरहेको बताए। अन्य अस्पतालमा पनि यस्तै अवस्था हुन सक्ने उनको अनुमान छ।

मौसम परिर्वतन भए पनि डेंगीको समस्या यथावत रहेकाले यसमा विशेष ध्यान दिनुपर्ने डा. पुनले औंल्याए। ‘जाडो समयसँगै डेंगीको समस्या हट्ला भन्ने थियो। तर, अहिलेसम्म पनि बिरामी आउने क्रम जारी छ,’ उनले भने, ‘यो अनुसन्धानको विषय हो।’ यसमा सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने उनको भनाइ छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:४३ सोमबार

डेंगी_संक्रमण डेंंगी संक्रमण