समाज

ग्रेताबाट प्रभावित लियोनार्डो

न्युयोर्क – हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो जलवायु परिवर्तनकी अभियन्ता ग्रेता थुनबर्गबाट प्रभावित भएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा जलवायु परिवर्तनकी अभियन्ता ग्रेता थुनबर्गसँगको फोटो पोस्ट गर्दै अभिनेता डिक्याप्रियोले ‘हाम्रो समयको नेता’ भनेर सम्बोधन गरेका छन्।

जलवायु परिवर्तनविरुद्ध वकालत गर्दै आएकी स्वीडेनकी १६ वर्षे ग्रेताको सन्देश विश्वका नेताहरुलाई वेक–अप कल बन्ने आश रहेको उल्लेख गरेका थिए। ओस्कार विजेता अभिनेता डिक्याप्रियोले इन्स्टाग्राममा लेखेका छन्, ‘मानव इतिहासमा महत्वपूर्ण विषयमा आवाज उठाएर परिवर्तनतर्फ लाग्न प्रेरित गर्ने गे्रता हाम्रो समयको नेता बन्न पुगेकी छन्। इतिहासले आज हामीले नयाँ पुस्ताको भविष्यलाई लिएर के गर्यौ भनेर स्मरण गर्नेछ। जसले गर्दा नयाँ पुस्ताले आनन्दसँग जीवन बाँच्न सक्नेछन्। मलाई आशा छ ग्रेताको सन्देश संसारका नेताहरूलाई वेक–अप कल बन्ने आश गरेको छ ’

उनले निष्क्रियताको समय समाप्त भएको विश्वका नेताहरुले ग्रेताको सन्देशबाट बुझ्ने अपेक्षा गरेका छन्। ग्रेताले सुरु गरेको ‘क्लाइमेट स्ट्राइक’ नामक विश्वव्यापी अभियानमा लाखौं बालबालिकादेखि युवा पुस्ताहरु सहभागी भएका छन्।

वातावरण संरक्षणको विषयमा वकालत गर्दै आएका अभिनेता डिक्याप्रियो ग्रेतासँगको छलफल फलदायी भएको उल्लेख गरेका थिए। ‘हामीले यस ग्रहको सुनिश्चित भविष्यको निम्ति एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं, ’उनले भने। उनले सन् २०१६ को ओस्कार अवार्डमा जलवायु परिवर्तनको विभिन्न विषयमाथि आवाज उठाएका थिए।

प्रकाशित: १८ कार्तिक २०७६ ०४:३७ सोमबार

हलिउड लियोनार्डो_डिक्याप्रियो