समाज

देउसी भैलोको पौने दुईलाख रकम मृगौला पीडितलाई

बिरामी कार्की (बाँया)लाई रकम हस्तान्तरण गर्दै वडाध्यक्ष पाख्रिन। तस्बिर : टंक/नागरिक

सर्लाही- तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमले कतै पिकनिक खाएर रमाईलो गरिन्छ भने कतै सामुहिक भाँडावर्तन अनि बाजागाजा किनमेल गर्ने प्रचलन छ। कतिपय देउसे भैलो समुहले भने संकलित रकम दामाशाहीले आपसमा बाँड्ने पनि गर्दछन्। तर जिल्लास्थित बागमति नगरपालिका पानीट्यांकी चोकका युवाले भने देउसी भैलोबाट संकलित रकम दुवै मृगौला खराब भएर उपचाररत स्थानिय एक युवालाई सहयोग गरेका छन्।

बागमती नपा.१, पानीट्यांकी चोक नजिक घर भएका मृगौला पीडित ३१ वर्षीय अजय कार्कीलाई एक लाख ७५ हजार १ सय ५० रूपैयाँ प्रदान गरिएको हो।

स्थानीय युवा बाबुराम भट्टराईको नेतृत्वमा रहेको देउसी भैली समुहले तीनदिन देउसी भैलो खेलेर एक लाख १२ हजार रुपैयाँ संकलन गरेको थियो। उक्त रकममा देउसी भैलो खेल्न नभ्याईएका कतिपय घरका बासिन्दाले समेत थप रकम सहयोग गरेपछि बिरामी कार्कीलाई पौने दुई लाख रूपैंया हस्तान्तरण गरिएको स्थानिय शिक्षासेवी युवराज मैनालीले जानकारी दिए।

'हामीसँगै खाई खेली हुर्कीएको साथि ठूलो संकटमा परेपछि उपचारमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले यसपालीको देउसी भैलोको रकम प्रदान गरेका हौं', मैनालीले भने, 'अन्य मनकारी महानुभावलाई पनि कार्कीको उपचारमा यथाशक्य आर्थिक सहयोग गर्न आग्रह गर्दछौं।' मैनालीले आफ्नो निजी विद्यालय पिस पोइन्ट बोडिङ स्कुलमा बिरामी कार्कीकी तीन वर्षीया छोरी आशिकालाई निःशुल्क पढाईदिने घोषणा समेत गरेका छन्।

एक समारोहका बीच बागमती नगरपालिका-१ का वडाध्यक्ष गम्भिरसिंह पाख्रिनको हातबाट बिरामी कार्कीलाई नगद हस्तान्तरण गरिएको छ। देउसीभैलोबाट संकलित रकमले रमाईलो गर्ने आम प्रचलनका बीच निकै ठूलो रोगबाट बिरामी भएका युवाको उपचारमा सहयोग गर्ने स्थानिय युवाहरुको साह्रै सह्रानीय र अत्यन्त मानविय कार्य भएको भन्दै वडाध्यक्ष पाख्रिनले धन्यवाद प्रकट गरे।

सामान्य आर्थिक अवस्थाका बिरामी कार्कीले हाल नियमित डाईलासिस गराईरहेको र पुग्नेजति रकमको जोहो भएपछि मृगौला प्रत्यारोपणको प्रकृयामा जाने परिवारले जनाएका छन्। दुबै मृगौला फेल भएका कार्कीको तत्काल मृगौला प्रत्यारोपण गर्नु पर्ने भएपनि आर्थिक अवस्था कमजोर हुदा समस्या भएको भन्दै परिवारले आर्थिक सहयोगको समेत अपेक्षा गरेको छ।

गाँउका दौतरी साथिभाईले देउसी भैलो खेलेर जम्मा भएको रकमले बनभोज लगायत रमाईलो गर्ने परम्परा तोडेर उपचारमा सहयोग गर्ने कार्यबाट आफुलाई निकै हर्षित बनाएको भन्दै विरामी कार्कीले साथिभाईप्रति आभार प्रकट गरे।

 

प्रकाशित: १६ कार्तिक २०७६ १०:२४ शनिबार

देउसी_भैलो रकम मृगौला पीडित