समाज

आज छठको मुख्य दिन ‘सझुकाअर्घ’, ३६ घण्टे निर्जल ब्रत सुरु

अस्ताउँदो सूर्यदेवलाई अर्घ दिँदै ब्रतालु । तस्विरः नागरिक

लहान– चार दिवसीय महापर्व छठको शनिबार मुख्य दिन– ‘सझुकाअर्घ।’ तराई–मधेसलगायत मुलुक भरका नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु एवं आगन्तुकको स्वागतमा झकिझकाउ पारिएको छ। शनिबार ब्रतालु तथा परिवारजनले घरघरमा बिहानदेखि लोकप्रिय प्रसाद ठेकुवा, भुसुवा, खाजा भनिने एक प्रकारको मिठाई तयार पार्छन्।

अपरान्हः घरको आँगनलाई लिपपोत गरी चोख्याउँछन्। चोखो ठाउँमा बाँसको नांग्लो र ढाकी मिलाएर राख्छन्। नांग्लोमा पुजा सामग्री सजाउँछन्। एकपटक घरमै कुल देउतालाई पुजा गरेपछि सामग्रीसहितको नांग्लोलाई पुनः ढाकीमा सजाउँछन्। त्यसमाथि सावधानीकासाथ बलिरहेको दियो राख्छन्।

यसपछि नयाँ पहिरनमा ब्रतालुसहित सारा परिवार पुजा सामग्री बोकेर घाटतिर लाग्छन्। प्रसादले भरिएको ढाकी भने जिम्मेबार व्यक्तिलाई बोक्न लगाउँछन्।

लोक आस्थाको यो पर्वको तेस्रो दिन शनिबार साँझ एवं चौथो दिन आइतबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित पुगेपछि ब्रतालु एवं परिवारजनले सूर्यदेवलाई अर्घ दिन्छन्।

बिहानीको अर्घ लगतै छठ माताको महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठानको समापन हुन्छ। अटल सौभाग्यको कामना गर्दै महिला ब्रतालुले एक अर्काको निधारमा रातो टीका पनि लगाइदिन्छन्।

अन्तिम दुई दिन घाट भनिने नदी, पोखरी एवं नहर किनारमा दिपावलीझैं माहोल हुन्छ। केहि दिन अगाडिदेखि नै घाटको सरसफाइ, निर्माण र सजावटमा स्थानीयवासी जुटेका हुनछन्। लक्ष्मी पुजामा घरलाई सजिसजाउ पारे झैं यतिखेर घाटलाई झिलिमिली बनाउँछन्। छठ घाटमा लहरे केराको बोट गाडेर दियो बालिने हुनाले दिपावलीकै माहोल हुन्छ।

बिहानीको पुजापछि अर्घ दिने, ब्रतालुको आशिर्वाद लिने एवं ठेकुवा, भुसवा लगायतका प्रसाद समग्री माग्न आउनेको घाटमा ओइरो लाग्छ। न दिने थाक्छन्, न त माग्ने नै। प्रसाद बाँड्दा धर्म हुने लोकविश्वास छ। त्यसैगरी प्रसाद मागेर खानेलाई पुजा गर्ने जतिकै पुण्य हुने धार्मिक मान्यता छ।

भरपुर आस्थाकासाथ प्रसाद माग्न आउने, बाँडने एवं मुख्य उपासकलाई ढोकेर आशीष लिने क्रम घरदेखि घाटसम्म निरन्तर चल्छ। ब्रतालुले बिहिबार बिहान स्नानपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरी यो पर्व सुरु गरेका हुन्। चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको दोस्रो मुख्य दिन शुक्रबार साँझ छठ ब्रतालुले घरघरमा ‘खरना’ पुजा गरे।

पहिलो दिनको स्नानपछि शाकाहारी भोजन खाएपछि पूर्णरुपले उपवास बसेका छठका ब्रतालुले परिवारजन एवं छरछिमेकको सहयोगले साँझ नपर्दै खिर तयार पारे। मधेसतिर यो पर्वकै प्रयोजनको लागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा ती चढावा तयार पारिन्छ।

ब्रतालुले शुक्रबार साँझ घरको एक शान्त कोठालाई लिपपोत गरी भुइँमा केराको पात फिजाएर त्यसमाथि खिर, केरासहित धुपदीप बालेर चन्द्र, सूर्य र भगवान सूर्यकै भगवती रुप मानिने छठी माताको मौन पुजा गरेर खरना मनाए। 

घरमा छठ नहुने विवाहित छोरीचेली पनि यतिखेर माइत आउँछन्। टाढा घर भएका आफन्तजन एवं मितमितेनीलाई ब्रतालु परिवारले आमन्त्रण गर्छन्। सम्पूर्ण परिवारको जमघटले यती धेरै रमाइलो माहोल हुन्छ की ३६ घण्टे निर्जल ब्रत पनि थाहै नपाई सम्पन्न हुन्छ, ११ वर्षदेखि आमाको बिडो थामेर ब्रत बस्दै आएकी ५० वर्षिय अम्विका यादवले बताइन्। 

खरना पुजा सम्पन्न भएपछि ब्रतालुले प्रसाद ग्रहण गर्छन्। उपस्थित सबैलाई बाँडछन्। छठ पुजाको मुख्य दिन अगाडिको यो एक महत्वपूर्ण धार्मिक विधि हो। यो धार्मिक अनुष्ठानपछि ब्रतालुको ३६ घण्टे निर्जल उपवास सुरु हुन्छ। सूर्यदेवको पुजाका लागि अर्को दिन बेलुकी पख र भोलिपल्ट बिहान घरबाट नजिकैको जलाशय किनारमा पुग्ने सम्झनाले ब्रतालु एवं आफन्तजनलाई रातभरी अनिदो बसेर रमाइलो गर्छन्।

अहिंसाको पर्व 

शाकाहारी र शुद्धतालाई निकै महत्व दिइने छठपूजालाई अहिंसाको पर्व पनि भनिन्छ। व्रतालु यस पर्वमा प्याज, लसुन, माछा मासु खाँदैनन्। यस पर्वमा सबैको जय जयकार गरिन्छ। छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिन्छ। छठपूजाले मनोकामना पूरा हुने विश्वासका कारण यस पर्वप्रति जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था बढेको सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पस सिरहामा मैथिली भाषाका सह प्राध्यापक उमेश कुमार झा(ललन)को तर्क छ। त्यसैले छठ पर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भाव र अहिंसाको पर्व पनि भनिन्छ, उनले भने।

किसानको श्रमको कदर 

छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ। जीवन र प्रकृति एकअर्काका पूरक हुन्। प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवनको सम्पन्नताको मियो हो भन्ने तथ्यलाई यो पर्वले प्रमाणित गर्छ। गम्हरी धान, हरियो पातसहित ऊखु, पातसहितको अदुवा, निम्बु, सानो बोडी, केरा, स्याउ, सुन्तला, सुथनी, झुत्रोसहितको नरिवल, कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले यस पर्वले किसानको श्रमको कदर गरेको देखिन्छ। ‘हामीले बनाएको सामान अधिक मात्रामा बिक्री हुने बेला यही हो,’ लहान–४ का उमेश पण्डित (कुमाल) सुनाउँछन्।

प्रकाशित: १६ कार्तिक २०७६ ०५:१३ शनिबार

छठ निर्जल_ब्रत अर्घ सूर्यदेव