समाज

बन्दीका लागि पुस्तक हस्तान्तरण

वालिङ – जिल्ला कारागार स्याङ्जामा रहेका बन्दीका लागि शुक्रबार पुस्तक हस्तान्तरण गरिएको छ। बन्दीलाई कानूनी तथा शैक्षिक जनचेतना जगाउनुका साथै पढ्ने बानीको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको टिम नेपोका अध्यक्ष निगम पौडेलले बताए।

“विगत नौ वर्षदेखि पुस्तक परियोजनाअन्तर्गत विभिन्न विद्यालयमा पुस्तकालय स्थापना गर्दै आएका छौँ”, अध्यक्ष पौडेलले भने, “विद्यालयमा प्रदान गरिएका पुस्तकप्रति विद्यार्थीको रुचि नदेखिएका कारण हामीले गत वर्षदेखि कारागार केन्द्रित गरेका छौँ।”

पहिलोपटक अर्घाखाँची जिल्ला कारागारका बन्दीलाई पुस्तक हस्तान्तरण गरेको संस्थाले दोस्रो पटक स्याङ्जा जिल्ला कारागारमा पुस्तकालय स्थापनाका लागि ४६५ पुस्तक सहयोग गरेको अध्यक्ष पौडेलले बताए। “केन्द्रीय कारागार डिल्लीबजारबाट अनुमति लिएर हामीले अहिले देशभर रहेका कारागारमा क्रमशः पुस्तक सहयोग गर्दै जाने योजना बनाएका छौँ”, टिम नेपो प्रदेश नं ३ का संयोजक नारायण खनालले भने, “यो अभियान सम्पन्न गर्नका लागि झण्डै तीन वर्ष लाग्ने छ।”

विभिन्न सङ्घसंस्था तथा व्यक्तिमार्फत सङ्कलन गरिएको पुस्तक टिम नेपोले प्रत्येक कारागारमा चारदेखि ५०० का दरले सहयोग गर्ने प्रदेश संयोजक खनालले बताए। टिम नेपोले कारागारका कैदीलाई लक्षित गरी पुस्तक प्रदान गरी सहयोग गरेको कारागार प्रमुख चूडामणि शर्माले बताए। “कारागारमा प्राप्त पुस्तक बहुउपयोगी हुने विश्वास लिएको छु”, प्रमुख शर्माले भने। रासस

प्रकाशित: १६ कार्तिक २०७६ ०४:२० शनिबार

कारागार स्याङ्जा बन्दी पुस्तक_हस्तान्तरण