समाज

दुइमाजु मन्दिरको सम्झौता खारेज

काठमाडौं – गुठी संस्थान शाखा कार्यालय, काठमाडौलें खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिर परिसरमा अमृता भट्टराई भन्ने व्यक्तिसँग भएको व्यापार सम्झौता खारेज गरेको छ। चौतर्फी विरोध भएपछि गुठी संस्थान प्रधान कार्यालयले उक्त जग्गाको भौतिक संरचना हटाई खाली गर्न शाखा कार्यालयलाई कात्तिक ६ गते पत्रमार्फत निर्देशन दिएको थियो। आदेशपछि अमृता भट्टराईसँग भएको व्यापार सम्झौता रद्द गरिएको हो।

शाखा कार्यालयले उक्त जग्गा अमृता भट्टराईलाई मासिक १५ हजार रुपैयाँको दरले पाँच वर्षका लागि भाडामा दिएको थियो। सम्पदाप्रेमी र स्थानीयले शक्तिको भरमा भूमाफियाले ऐतिहासिक सम्पदा अतिक्रमण गर्न खोजेको भन्दै तिहारअघि खुलामञ्चमा विरोध स्वरुप धर्ना बसेका थिए।

महानगरपालिका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले समेत तिहारअघि अनुगमन गरेर सो सम्झौता खारेज गर्न गुठी संस्थानलाई निर्देशन दिएकी थिइन्। शाखा कार्यालय प्रमुख शैलेन्द्र पौड्यालले गुठी संस्थानबाट आदेश पत्र आएसँगै अमृता भट्टराईसँगको सम्झौता खारेज भएको बताए। ‘तिहारअघि गुठी संस्थानबाट सम्झौता रद्द गर्न पत्र आएको थियो,’ उनले भने, ‘अमृता भट्टराईसँग गरिएको सम्झौता खारेज भइसकेको छ। यसका लागि दर्ता चलानी भइसकेको छ।’

उनका अनुसार सम्झौता खारेज भइसके पनि अस्थायी टहरा भने भत्काइएको छैन। अहिले त्यहाँ व्यापारीले पसल सञ्चालन गर्दै आएका छन्। सम्पदाप्रेमी, गुठी संस्थान र महानगरपालिकासँग छलफल गरी पसल छिटै हटाइने शाखा कार्यालय प्रमुख पौड्यालको भनाइ छ।

शाखा कार्यालय प्रमुख पौड्यालले छलफल गरेर टहरा भत्काउने भने पनि गुठी संस्थानले तत्काल ती संरचना भत्काउन पत्रमा निर्देशन दिएको छ। पत्रमा उल्लेख छ, ‘तहाँको प.सं. ०७६/०७७ च.नं. ७३७ मिति ०७६–७–६ को पत्रसाथ दुई माजु गुठी का.म.पा, वडा नं. २८ को जग्गा भाडा सम्बन्धी कारबाही फायल प्राप्त भई पेस हुँदा उक्त जग्गा सम्बन्धमा अमृता भट्टराईसँग भएको सम्झौता तत्काल रद्द गरी सो देवस्थल र वरिपरिकोे प्रांगण स्वच्छ, सफा, सुरक्षित गर्न र कुनै भौतिक संरचना बनेको भए हटाई खाली गर्न समेत तहाँलाई दिर्देशन दिने भनी मिति ०७६–७–६ मा निर्णय भएकाले सो अनुसार हुन प्राप्त फायल साथै राखी अनुरोध गर्दछु।’

चौतर्फी विरोध भएपछि अमृता भट्टराईले २०७६ असोज १५ गते गुठी संस्थानमा सम्झौता खारेजको निवेदन समेत दिएकी थिइन्।

प्रकाशित: १६ कार्तिक २०७६ ०३:०० शनिबार

दुइमाजु_मन्दिर सम्झौता_खारेज