समाज

चक्कु प्रहारबाट घाइतेको उपचारका क्रममा मृत्यु

सुर्खेत- यही कात्तिक १२ गते दिपावलीकै दिन चक्कु प्रहारबाट गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका– १० का ३० वर्षीय चन्दन रानाको उपचारका क्रममा मृत्यु भएको छ। 

रानाको उपचारका क्रममा बिहीबार बेलुका भारतको लखनउमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। दिपावलीका दिनमा सुर्खेत दीपनगरमा भैली खेलिरहेका समयमा सोही वडा निवासी २९ वर्षीय निर्मल सोनी, १९ वर्षीय केशव खनाल र २२ वर्षीय प्रेम गुरुङले पछाडिबाट टाउकोमा चक्कु प्रहारगरी सख्त घाइते बनाएको उहाँले बताए।

प्रवक्ता रावलका अनुसार घाइते रानालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिए पनि अस्पतालले नेपालगञ्ज सिफारिस गरेको थियो। नेपालगञ्ज पनि उपचार हुन नसकेपछि रानाका आफन्तले थप उपचारका लागि लखनउ लगेका थिए। रानालाई चक्कु प्रहार गर्ने खनाल र गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार फरार सोनीको खोजतलास कार्यलाई तीव्र बनाईएको छ। रासस

प्रकाशित: १५ कार्तिक २०७६ १४:४५ शुक्रबार

चक्कु_प्रहार मृत्यु