समाज

कैदीबन्दी आन्दोलनमा

नेपालगञ्ज- नेपालगञ्जस्थित बाँके कारागारका कैदीबन्दी नाइके फेर्नुपर्ने माग राख्दै आज आन्दोलनमा उत्रेका छन्। नाइके मानबहादुर शाही र चौकीदार भरत फडेराको सरुवा माग गर्दै कैदीबन्दीले आन्दोलन थालेका हुन्।

बाँके कारागारका निमित्त प्रमुख बखतबहादुर थापाका अनुसार शाही र फडेराले कैदीबन्दीको राशन र दैनिक उपभोग्य वस्तुको खरीदमा अनियमितता गरेको आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रेका हुन्। फोन प्रयोग गरेबापत प्रतिमिनेट रु तीनका दरले कैदीबन्दीबाट रकम असुल्ने गरेको समेत उनीहरुको आरोप छ। कैदीबन्दीले कारागारको मूलढोकामा ताला लगाएका छन्।

समस्या समाधानका लागि कैदीबन्दीसँग छलफल भइरहेको कारागारका निमित्त प्रमुख थापाले बताए। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी उपरीक्षक वीरबहादुर वलीले आज कैदीबन्दीसँग छलफल गरेका थिए। प्रहरी उपरीक्षक वलीले छलफलका क्रममा कैदीबन्दीले नाइके परिवर्तनको माग राखेको बताए। रासस

प्रकाशित: १४ कार्तिक २०७६ १३:५२ बिहीबार

कैदीबन्दी आन्दोलन