समाज

घुससहित समातिए नेपाल प्रहरीका सइ

बिहिबार ६० हजार घुस रकमसहित पक्राउ परेको सइ जटाशंकर साह कलवार ।

बारा- प्रहरी चौकी गंजभवानीपुरका प्रहरी नायब निरीक्षक (सइ)लाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोेग हेटौैंडाको टोलीले बिहिबार पक्राउ गरेको छ। हेटौंडास्थित आयोगको कार्यालय हेटौंडाबाट खटेको टोलीले प्रहरी चौकी गंजभवानीपुरका प्र्रमुख प्रहरी नायब निरीक्षक जटाशंकर साह कलवारलाई ६० हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी शिवराज रेग्मीले एक जना स्थानीय कपडा व्यापारीसँग कलवारले घुस रकम लिई रहेको अवस्थामा कलैया उपमहानगरपालिका–४ मैैदा मिल नजिकैबाट अख्तियारको टोलीले पक्राउ गरेको बताएका छन्।

घुस रकमसहित पक्राउ परेका सइलाई अनुसन्धानको लागि हेटौंडा राखिएको र थप कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय काठमाडौंको टंगालमा बुझाइने बताए। बाराका प्रहरी प्रमुख विकास राज खनालले निजी स्वार्थमा लागेर प्रहरी संगठनलाई बदनाम गर्ने कार्यमा लाग्नेलाई प्रहरी संगठनभित्र ठाउँ नभएको बताए।

मातहतमा रहेका प्रहरी चौकीका इन्चार्जहरुलाई प्रहरी संगठन विपरित गएर काम नगर्न पटक पटक निर्देशन दिँदा पनि निर्देशन अटेरी गर्दा कलवार अख्तियारको फन्दामा परेको बताए।

प्रकाशित: १४ कार्तिक २०७६ १३:२२ बिहीबार

नेपाल_प्रहरी सइ घुस