समाज

सरसफाइका लागि देउसीभैलोबाट रकम सङ्कलन

महोत्तरी – देउसीभैलो कार्यक्रमबाट जिल्लाकोे सरसफाइ अभियानमा एकै दिनमा एक लाख ५० हजार रूपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ। बर्दिवास सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिको आयोजनमा सोमबार बर्दिवासचोकमा आयोजित ‘संस्कृति जगेर्नासहित सरसफाइसम्बन्धी देउसीभैलो’ कार्यक्रममा एक लाख ५० हजार रूपैयाँ सङ्कलन भएको हो।

सङ्कलित रकम बर्दिवासको सरसफाइ अभियानमा खर्च गरिने भएकोे छ। कार्यक्रममा राष्ट्रिय कलाकार तथा राजनीतिक दलका नेता एवं जनप्रतिनिधिले देउसीभैलोलाई सरसफाइ अभियानसँग जोड्दै ऐक्यबद्धता जनाउनुका साथै बर्दिवासको सरसफाइ अभियान सबैको साझा बनेको बताएका थिए। त्यस अबसरमा कलाकारहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।

स्थानीय सरसफाइ तथा फोहरमैला व्यवस्थापन समितिले शुरु गरेको अभियान अहिले नवौँ हप्तामा टेकेको छ। नगरको सरसफाइमा सबैलाई सरिक बनाउने उद्देश्यअनुरुप देउसीभैलो कार्यक्रम आयोजना गरेकाे उक्त समितिका अध्यक्ष चुडामणि पोखरेलले बताए। गत साउन अन्तिम साता सबै पक्षको प्रतिनिधित्व गराएर गठन गरिएको समितिले नगरमा दैनिक सरसफाइ, अनुगमन र संयोजन गर्दै आएको छ।रासस

प्रकाशित: १२ कार्तिक २०७६ ०३:५६ मंगलबार

सरसफाइ देउसीभैलो