समाज

जनगायक शर्माको छोराको उपचारमा सहयोग

काठमाडाैँ - जनगायक जीवन शर्माको छोराको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले सहयोगको घोषणा गरेको छ। जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न रु एक लाख एक हजार सहयोग गर्ने निर्णय गरिएकोे नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए ।

“जनताको मुक्तिका लागि गीत गाउने कलाकार शर्माको परिवारमाथि आइपरेको विपतमा साथ दिन सहयोग गर्ने निर्याण गरिएको हो”, उहाँले भन्नुभयो । केही दिनमै रकम हस्तान्तरण गरिने उनले बताए। नेकपाका नेता, सांसद, जनप्रतिनिधिबाट सहयोग रकम सङ्कलन गरिएको अध्यक्ष सापकोटाले बताए ।

दशैँमा शर्माका छोरा अमृतको मासु खाने क्रममा हड्डी अड्केर अन्ननलीमा जटिल समस्या देखिएको हो । अमृतको उपचारमा रु ५० लाखभन्दा बढी खर्च हुने बताइएको छ ।

बागलुङवासी गायक शर्माको छोरा बचाउन जिल्लामा सहयोग अभियान सञ्चालन गरिएको छ । यसै क्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान बागलुङ शाखाले रु ५१ हजार सङ्कलन गरी शर्मालाई हस्तान्तरण गरेको छ ।

प्रकाशित: १० कार्तिक २०७६ १३:०५ आइतबार

सहयोग नेपाल_कम्युनिष्ट_पार्टी