समाज

फेरियो देउसी–भैलोको शैली

काठमाडौं, कात्तिक ९
आहै झिलिमिली झिलिमिली
देउसिरे
आहै बत्तीको झिलिमिली
देउसिरे
आहै रमाइलो तिहार
देउसिरे
आहै मनाउँदै आइयो
देउसिरे...
तिहारका बेला खेलिने देउसी–भैलोमा गाइने गीत हो यो । समयसँगै देउसी–भैलो गाउने तरिका भने फेरिएको छ ।

कुनै समय थियो– देउसी–भैलोमा गाउँघरका लोग्ने मान्छे जम्मा हुन्थे, आफ्नै परम्परागत दौरा सुरुवाल लगाउँथे, देउसी भैलो गाउँदै हिँड्थे, आशीर्वाद लिन्थे, दिने मान्छेले पनि खुसी भएर दक्षिणा दिन्थे ।

कुनै समय थियो– देउसी–भैलो खेल्न गाउँघरका मानिस दौरा–सुरुवालमा सजिएर आउँथे । देउसी–भैलो गाउँदै हिँड्थे । घरघरबाट आशीर्वाद लिन्थे । र, प्रत्येकले आफ्नो गक्ष अनुसार दक्षिणा दिन्थे ।

तर, अचेलको देउसी–भैलोमा यो देखिँदैन । अचेल देउसी–भैलोमा तोकेर दक्षिणा माग्ने प्रवृत्ति देखिएको छ । यसले संस्कृति लोप हुने खतरा देखिएको संस्कृतिविद् बताउँछन् । पहिले रमाइलोका लागि देउसी–भैलो खेलिने गरेको भए पनि अहिले पैसा कमाउने उद्देश्यले खेलिन थालिएको उनीहरूको भनाइ छ ।

संस्कृतिविद् गोविन्द टण्डन देउसी–भैलो खेल्ने शैली बदलिएको बताउँछन् । ‘पहिले हामी देउसी खेल्न दुई–तीन महिनाअघि तयारी गथ्र्याैं,’ उनी भन्छन्, ‘तर, अहिलेको पुस्ताले तयारीबिनै देउसी खेल्ने गरेको पाइएको छ ।’ अहिलेको पुस्ता मोबाइल, सिडी क्यासेट बजाएर देउसी–भैलो खेल्ने गरेको उनले बताए ।

पछिल्लो समय देउसी–भैलोमा तोकेर रकम माग्ने चलनले विकृति निम्त्याएको उनको भनाइ छ । दिेउसी–भैलो खेलेर उठेको रकम सामाजिक काममा लगाउनुपर्ने उनको सुझाव छ ।

समयको गतिसँगै समाज परिवर्तन भए पनि संस्कृतिलाई नै परिवर्तन गर्न नहुने समाजशास्त्री डा. दिलिपकुमार मल्ल बताउँछन् । ‘हामीले संस्कृतिको संरक्षण गर्न, पुराना संस्कार–संस्कृति बचाइराख्न देउसी–भैलो खेल्ने हो,’ डा. मल्ल भन्छन्, ‘देउसी–भैलो पनि समाजमा परिवर्तन ल्याउने तरिकाले खेल्नुपर्छ ।’

पछिल्लो समय देउसी–भैलो पैसा ‘असुल्न’का लागि खेलिने गरेको र यो नकारात्मक पक्ष भएको उनी बताउँछन् । संस्कृतिविद् राजेन्द्र आचार्यले सांस्कृतिक पक्ष विविध कारणबाट मासिन लागेको बताए । ‘अहिले विद्युतीय सामग्रीका कारण परम्परागत सामग्री मासिन लागेको छ,’ संस्कृतिविद् आचार्य भन्छन्, ‘देउसी–भैलो खेल्दा मजुरा, मादल, बजाएर, वरिपरि घुमेर, भैलो भट्टाएर र परम्परागत पोसाक लगाएर खेल्नुपर्छ ।’ पुरानाा पुस्ताले नयाँलाई संस्कार, संस्कृति र मौलिकताबारे सिकाउन पनि आवश्यक रहेको उनको भनाई छ ।

प्रकाशित: १० कार्तिक २०७६ ०३:०६ आइतबार

देउसी भैलो