समाज

मृतकको नाममा सामाजिक सुरक्षाभत्ता, छानबिन समिति गठन

खोटाङ – बराहपोखरी गाउँपालिकामा मृत्यु भइसकेका र बसाइँ सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेपछि छानबिन समिति गठन गरिएको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पहिल्यै मृत्यु भइसकेका वृद्धवृद्धा एवं बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि गाउँ कार्यपालिका बैठकले गाउँपालिका उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो।

छानबिन समितिको सदस्यमा कांग्रेसका तर्फबाट महेन्द्र विष्ट, समाजवादीका तर्फबाट किसन राई, कार्यपालिका सदस्य गणेश परियारलगायत छन्। नेकपाका तर्फबाट भने प्रतिनिधिको नाम आउन बाँकी रहेको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले बताए। छानबिन समितिलाई गाउँपालिकाका ६ वटै वडाभित्रको सामाजिक सुरक्षाभत्ता दुरुपयोगका विषयमा अध्ययन गरी ३५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। मृत्यु दर्ता, बसाइँसराइलगायत तथ्यांकको काम चुस्तदुरुस्त नराखी वडा कार्यालयले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षाभत्ता निकासा गरिरहेको भन्दै छानबिनका लागि कात्तिक १ गते गाउँपालिकामा उजुरी परेको थियो।

५० जनाभन्दा बढीको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधवा र बसाइँ सरिसकेका ३ जनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ। यस्तै चारजनाको नाममा दोहोरो सुविधा देखिएको र एकजना हुँदै नभएको अपांगको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पाइएको स्थानीय बिदुर श्रेष्ठले बताए।

५० जनाभन्दा बढीको हस्ताक्षर भएको उजुरीमा मृत्यु भइसकेका ६ विधवा र १९ वृद्धवृद्धा तथा बसाइँ सरिसकेका ३ जनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ।

मृत्यु भइसकेका विधवा खड्गमाया थापा मगर, गर्भिमाया तामाङ, दान्जिमाया तामाङ, निरमाया मगर, विष्णुलक्ष्मी श्रेष्ठ र मदनकुमारी राईको नाममा रकम निकासा गरेर हिनामिना भइरहेको उजुरीमा दाबी गरिएको छ। यस्तै मृत्यु भइसकेका ज्येष्ठ नागरिक हर्कबहादुर मगर, सनमान थापा मगर, लालबहादुर राई, मनमाया राई, भक्तबहादुर कार्की, फुलमाया तामाङ, बदनमाया मगर, बमबहादुर खत्री, देवीप्रसाद श्रेष्ठ, दलमाया मगर, तिलकबहादुर राई, डम्बरकुमारी श्रेष्ठ, ज्ञानलक्ष्मी श्रेष्ठ, चन्द्रमाया खड्का, कौशिलादेवी आचार्य, कपिलबहादुर थापा, भलमाया कामी, ध्वजवीर दमाई र मनमाया कामीको नामको भरपाई पेस गरेर सामाजिक सुरक्षाभत्ता बुझेको कागजात फेला परेको श्रेष्ठले बताए।

सूचीमा मृत्यु भइसकेका विधवा विष्णुकुमारी श्रेष्ठ र वृद्ध सुन्दरमान तामाङको नाम दोहोरिएको जनाइएको छ। यस्तै, बसाइँसराइका क्रममा विराटनगर, उदयपुरलगायत ठाउँ पुगेका तीन वृद्धाको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइ नै रहेको पाइएको उजुरीमा उल्लेख छ। लगतकट्टा नहुँदा बसाइँ सरिसकेका व्यक्तिले हाल बसोबास गरिरहेका ठाउँबाट पनि सामाजिक सुरक्षाभत्ता बुझ्ने गरेका छन्। यस्तै, हुँदै नभएका अपांग सूर्य थापाको नाममा पनि रकम निकासा हुँदै आएको पाइएको स्रोतले जनाएको छ। ‘गत फागुनसम्मको तथ्यांक हेर्दा ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पायौं,’ श्रेष्ठले भने, ‘त्यसपछि छानबिनका लागि गाउँपालिकालाई उजुरी दिएका हौं।’ सरकारी निकायको लेखा परीक्षणका लागि २०७५ साल माघमा आएको महालेखा परीक्षकको कार्यालयले पनि बराहपोखरी गाउँपालिकालगायत स्थानीय तहमा मृत्यु भइसकेका व्यक्तिको नाममा र कतिपय एउटै व्यक्तिको नाममा दोहोरो भत्ता वितरण भइरहेको औंल्याएको थियो।

केही समयअघि वडासचिवका रूपमा बराहपोखरी पुगेका पुष्पराज राईले फागुनयता मृत र बसाइँ सरिसकेका नागरिकको लगत कट्टाको काम गरिरहेको जनाइएको छ। आफन्तका अनुसार कपिलबहादुर थापाको २०७४ साल फागुन २३ गते वडा कार्यालयमा मृत्यु दर्ता गरिएको थियो। तर, हालसम्म पनि सामाजिक सुरक्षा भत्ता निकासाको काम नरोकिएको पाइएको नाति राजन थापाले बताए। यस्तै, २०७५ साल वैशाख १२ गते मृत्यु भएका गर्भिमाया तामाङको नाममा पनि रकम निकासा भइरहेको पाइएको बुहारी रिता तामाङले गुनासो गरिन्। ‘हामीले असार १२ गतेसम्मको भत्ता लियौं। त्यसपछि वडा कार्यालयले सासुको पट्टा राखेर अब मरेकाको नाममा पैसा आउँदैन भन्दै फर्कायो, त्यसपछि हामीले वास्ता गरेनौं,’ तामाङले भनिन्, ‘मृत सासूको नाममा भत्ता निकासा भइरहेको थाहा भयो। त्यो भत्ता कसले लिइरहेको छ भन्ने हामीलाई थाहा छैन।’

प्रकाशित: १० कार्तिक २०७६ ०२:१२ आइतबार

छानबिन_समिति सामाजिक_सुरक्षाभत्ता