समाज

उद्योग वाणिज्य महासंघले कान्ति अस्पतालमा नयाँ भवन बनाइदिने (भिडियाे)

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले कान्ति बाल अस्पतालमा नयाँ भवन निर्माण गर्ने भएको छ। 

शुक्रबार महाराजगञ्जस्थित अस्पताल परिसरमा महासंघकी अध्यक्ष भवानी राणा र अस्पतालका निर्देशक डा. आरपी बिचाले भवन निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे। 

उक्त भवन उपचारको लागि अस्पताल आएका अभिभावकहरूको लागि अतिथि गृहको रूपमा प्रयोग हुनेछ।

कार्यक्रममा क्यान्सर पीडित अभिनेत्री मनीषा कोइराला प्रमुख अतिथि थिइन्। मुख्य वक्ताहरुमा पल्मोनोलोजिष्ट डा. मदनकुमार पिया, क्यान्सर विशेषज्ञ डा. राजेन्द्र प्रसाद बराल र डा. सुदीप श्रेष्ठ रहेका थिए।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै महासंघका अध्यक्ष राणाले नेपालको निजी क्षेत्रका व्यवसायको शीर्ष निकायको रुपमा महासंघले सामाजिक उद्देश्यका लागि काम गर्ने बताइन्। यस्ता सामाजिक कार्यलाई प्रदेशस्तरमा लगिने उनको भनाई छ। 

डा. बरालले नेपालमा विशेष गरी क्यान्सरको बारेमा अझै सचेतना नभएको उल्लेख गरे। जसकारण ग्रामीण क्षेत्रका बिरामीले क्यान्सरको प्रारम्भिक लक्षणहरू चिन्न नसक्ने र समयमै उचित उपचार पाउन नसकेको बताए।

अपर्याप्त ज्ञानको कारण अझै पनि मानिसहरु क्यान्सरको उपचार नभएको ठान्ने गरेको र क्यान्सरको पहिचान हुँदा जीवनको आशा हराउने उनले बताए। ‘यद्यपि, क्यान्सर सुरुवाती चरणमा पत्ता लाग्यो उपचार सम्भव छ भन्ने सन्देश फैलाउन जरुरी छ’, उनले भने। 

कार्यक्रममा सबैभन्दा संवेदनशील स्वास्थ्य समस्या बाल क्यान्सरको बारेमा पनि छलफल भएको थियो।

नेपालमा बाल्यकालको क्यान्सर भएको प्रायः जसो घटनामा पीडितहरु उपचारको लागि आउँदैनन् वा आर्थिक अभावका कारण उपचार बीचमै छाडेर जान्छन्। ‘कुल संख्या मध्ये १५५ मात्र उपचारका लागि आउँछन्। बाँकी ७५५ उपचारको लागि पनि आउँदैनन्’, कान्ति बाल अस्पतालका एक आन्कोलोजिष्ट डा. विष्णुरथ गिरीले भने। ‘यद्यपि यो महसुस गर्नु धेरै महत्वपूर्ण छ कि बाल्यावस्थाको क्यान्सर ८० प्रतिशत उपचार योग्य छ, तिनीहरू ६०/८० वर्षसम्म बाँच्न सक्छन्।’

कार्यक्रममा नायिका मनिषा कोइरालाले क्यान्सरबाट पीडितको रूपमा आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै सबैलाई एकसाथ रोगको बारेमा जागरूकता बढाउन आग्रह गरिन्। ‘हामी कति दिन बाँचिरहेका छौं भनेर होइन, हामी कति बाँचिरहेका छौं भनेर हेर्नुपर्छ’, उनले भनिन्।

प्रकाशित: ९ कार्तिक २०७६ ११:२० शनिबार

नेपाल_उद्योग_वाणिज्य_महासंघ कान्ति_बाल_अस्पताल नयाँ_भवन