समाज

बनकरिया बालबालिकालाई शैक्षिक सामग्री

मकवानपुर – आर्थिक अवस्था कमजोर रहेको लोपोन्मुख जाति बनकरिया समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

दातृ निकाय माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले बनकरियासँगै चेपाङ र तामाङ समुदायका २५ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो।

प्रत्येक बालबालिकालाई विद्यालय पोसाक, झोला, जुत्ता, मोजा, कपी, डटपेनलगायत सामग्री वितरण गरिएको मञ्चकी उपाध्यक्ष यशोकान्ति भट्टचनले बताइन्। उनका अनुसार संस्थाले बनकरिया समुदायको शैक्षिक गुणस्तर वृद्धिसँगै जीविकोपार्जनमा सहयोग गर्दै आएको छ।

कार्यक्रममा मनहरि गाउँपालिका–४ का अध्यक्ष ध्रुव खड्का, पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य, मनहरि–४ की बालमैत्री सहजकर्ता मनीषा रिजाल (विष्ट) लगायतले शैक्षिक सागग्री वितरण गरेका थिए। मकवानपुरको मनहरि गाउँपालिका–४, ट्वांग्रामा मात्र बसोबास रहेको बनकरिया समुदायका २१ घरमा ८१ जना रहेका छन्।
 

प्रकाशित: ९ कार्तिक २०७६ ०१:३६ शनिबार

लोपोन्मुख बनकरिया_समुदाय शैक्षिक_सामग्री