समाज

ढिस्कोले पुरिएर बालिकाको मृत्यु

राजविराज- तिहारमा घर लिपपोत गर्नको लागि माटो खन्नेक्रममा सप्तरीको कञ्चनरुप–११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको आज दिउँसो मृत्यु भएको छ।  

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप–११ गोरपार निवासी पवन सरदारकी १३ वर्षीया छोरी पुष्पाकुमारी सरदारको रहेकोे इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । उनको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।   

तीन बालिका दीपावली (तिहार)को लागि घर लिपपोत गर्ने भन्दै कञ्चनरुप नगरपालिका–११ स्थित गोरपारमा कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा बालिका पुष्पा कुमारीको मृत्यु भएको छ भने अर्का दुई जना बालिकासमेत घाइते भएका छन्।  

सोही ठाउँका लागू सरदारकी १५ वर्षीया छोरी मन्त्रिता सरदारको देब्रे खुट्टा पूरै चुँडिएर घाइते छन्। त्यस्तै मनिलाल सरदारको १७ वर्षीया छोरी सुस्मिता सरदारको समेत हार र खुट्टामा चोट लागेको प्रहरी उपरीक्षक मिश्रले बताए। 

घाइते मन्त्रिताको उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै सुस्मिता सरदारको कृति सामुदायिक स्वास्थ्योपचार केन्द्र रुपनगरमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। रासस

प्रकाशित: ८ कार्तिक २०७६ १४:०३ शुक्रबार

माटाे ढिस्काे मृत्यु