समाज

तेस्रो मुलुकको सामान भारत तस्करी, दुईवटा ट्रक नियन्त्रणमा

प्रहरीले नियन्त्रणमा लिएका ट्रक। तस्विर नागरिक

टीकापुर - नेपाल भारत सीमा क्षेत्र नजिकैबाट प्रहरीले दुईवटा ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालयले भजनी नगरपालिका–३ मरीयाघाटबाट बा ८ ख १८४० र ना ६ ख ५७६१ नम्बरका दुईवटा ट्रक शुक्रबार बिहान ८ बजे नियन्त्रणमा लिएको हो। तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले ती ट्रक नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएका दुईवटै ट्रकमा पराल लोड गरेको भेटिएको छ। पक्राउ परेकाहरुले पराल लोड गर्न गएको बयान दिएको इलाका प्रहरी कार्यालय भजनीका इञ्चार्ज प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। ‘ट्रकमा आधा पराल छ। उनीहरुले पनि पराल लोड गर्न गएको भनेका छन’ उनले भने–‘अनुसन्धान भैरहेको छ। अहिले नै केही भन्न सकिने अवस्था छैन।’

तर स्थानीयले ती ट्रक तस्करीको सामान पु-याएर फर्किने अवस्थामा पक्राउ परेको बताएका छन्। उनीहरुका अनुसार ट्रक राति करिव १२ बजेतिर मरीयाघाट पुगेका थिए। स्रोतका अनुसार अरुको आँखा छल्न तस्करहरुले नै रित्तो ट्रक फर्काउनु भन्दा पराल भरेर फर्काएका थिए।

स्थानीयले केही दिन यता नेपालतर्फबाट विभिन्न सामानहरु भारततर्फ तस्करी भैरहेको बताएका छन्। पछिल्लो केही समय यता तेस्रो मुलुकबाट नेपाल भित्रिएका सामान भारततर्फ तस्करी भैरहेको स्रोतको दावी छ।

यसरी तस्करी भैरहेका सामानहरुमा छोहोरा, सुपारी, कालो मरिच, ओखर, ल्वाङ, सुकमेल, केराउ लगायत छन। खासगरी भारतले प्रतिबन्ध लगाएका सामानहरु तेस्रो मुलुकबाट नेपाल भित्रिने र नेपालको सीमा नाका हुँदै भारत तस्करी हुने गरेको स्रोतको भनाई छ।

भारततर्फ भैरहेको सामान तस्करीमा प्रहरी लगायतको समेत मिलेमतो रहेको स्रोतको दावी छ। स्थानीयका अनुसार केही दिन यता मरीयाघाट, गुलरीयाघाट, जसबहादुर घाट, डाक्टर फाराम, हलौना, कौवाखेडा लगायतका सीमा क्षेत्रबाट ब्यापक तस्करी बढेको छ। उनीहरुले प्रहरीकै संरक्षणमा तस्करी मौलाएको बताएका छन।

स्रोतका अनुसार ट्रक पक्राउमा समेत स्थानीय प्रहरी दवावमा परेको हो। स्थानीयले जिल्लामा तस्करीका बारेमा सूचना दिएपछि जिल्लाबाटै स्थानीय प्रहरीलाई ट्रक पक्राउ गर्न दवाव परेको स्रोतको दावी छ।

‘यति हुँदा पनि सबै सामान पारी ओसारेपछि मात्रै ट्रक पक्राउ गरेको नाटक गरियो’ एक स्थानीयले भने–‘राति नै खबर गरेको भएपनि प्रहरी बिहान मात्रै मरीयाघाट पुगेको थियो।’

स्रोतका अनुसार तस्करले स्थानीय युवालाई समेत प्रलोभनमा पारेका छन। स्थानीय युवाले समेत तस्करीलाई सघाउने गरेको पाइएको छ। उनीहरुले सीमा क्षेत्रमा सामान वारपार गर्न सघाउने गरेका छन।

प्रकाशित: ८ कार्तिक २०७६ ०६:४८ शुक्रबार

तस्करी ट्रक_नियन्त्रण तेस्रो_मुलुक