समाज

कारागार अस्पतालमा दन्तसेवा शुरु, बिरामीको चाप बढ्दो

काठमाडौं – नेपालको एकमात्र कैदीबन्दीको उपचार गर्ने कारागार अस्पतालले दन्तसेवा शुरु गरेको छ। मुलुककै सबैभन्दा ठूलो कारागार केन्द्रीय कारागार सुन्धारा परिसरमा रहेको कारागार अस्पतालले असोजदेखि विशेषज्ञद्वारा दन्तसेवा शुरु गरेको हो।

विसं १९७१ मा केन्द्रीय कारागार जगन्नाथदेवलको स्थापना भए पनि स्वास्थ्य सेवा भने २०२० सालदेखि प्रदान गर्दै आएको हो। २०२० सालमा एक कोठाबाट कैदीबन्दीको स्वास्थ्य चेकजाँच गरे पनि २०६८ सालदेखि १५ श्ययाको अस्पतालमार्फत सेवा प्रदान गरिएको थियो। गत वर्ष ३० श्ययाको अस्पतालका रूपमा स्तरोन्नति गरिएको उक्त अस्पतालले श्ययाको स्तरोन्नतिसँगै सेवासमेत थप गरेको हो। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सचिन यादवले कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा विस्तार गरिएको बताए। “कैदीबन्दीलाई सबै रोगको उपचार कारागार अस्पतालभित्रै गर्ने व्यवस्थाका लागि उक्त सेवा विस्तार गरेका हौँ,” उनले भने।

कारागार अस्पतालले हाल बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, छालारोग, आँखा, मनोरोग, क्षयरोग, कुष्ठरोग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ। दशौँ तहको अधिकृतको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन भएको छ। केन्द्रीय कारागारमा हाल तीन हजार २०८ कैदीबन्दी छन्। केन्द्रीय कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेको छ। तीन वटैमा कैदीबन्दी राख्ने क्षमता एक हजार ५०० रहेको केन्द्रीय कारागारका प्रमुख एवं जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। 

डा. यादवले कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वार्ड स्थापना गरेर ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगको उपचार गरिरहेको बताए। पन्ध्र श्ययाको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० श्ययाको अस्पताल सञ्चालन गर्नका लागि ३६ दरबन्दी थप गरेको छ। उक्त अस्पतालमा हाल ५५ चिकित्सकले उपचार गरिरहेका छन् । 

अस्पतालभित्र उपचार हुन नसकेका बिरामीलाई भने अस्पताल बाहिरका सरकारी अस्पतालमा पठाउने गरिएको छ। “रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताललगायतमा पठाउँदै आएका छौँ”, डा. यादवले भने। कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ। कारागार अस्पतालले भने निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ। 

अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग देखापरेको छ। साँघुरो ठाउँ र धेरै कैदीबन्दी राख्दा त्यस्ता रोग बढी देखिएको चिकित्सकले बताएका छन्। देशका सबै कारागारका बिरामी कैदीबन्दीको उपचार कारागार अस्पतालले गर्नुपर्ने भएकाले बिरामीको भिडभाड दैनिक रूपमा बढ्दै गएको डा.यादवले बताए। कारागार अस्पतालले दैनिक १०० देखि १५० बिरामी कैदीबन्दीको उपचार गरिरहेको छ।

अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अस्पताल प्रशासनले ११औँ तहको दरबन्दी र चिकित्सक माग गरेको छ। यस्तै, शल्यक्रिया र प्रसूति उपचारको समेत व्यवस्था मिलाउनका लागि माग गरिएको अस्पतालले जनाएको छ। अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चौबिसै घण्टा सेवा सञ्चालन गर्दै आएको छ।

कारागार व्यवस्थापन विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन्। काठमाडौँ र दाङमा दुई÷दुई कारागार रहेका छन् भने भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन। 

हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन्। यस्तै, भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्रहरु सञ्चालनमा रहेका छन्। 

सरकारले आव ०७५/७६ मा मात्र तुलसीपुर, धादिङ, सङ्खुवासभा, कास्की, अछाम, भीमफेदी र कपिलवस्तु कारागारको क्षमता वृद्धि गरेको छ। यी स्थानमा एक हजार ३०० बढी कैदीबन्दी राख्न सकिनेछ। विभागका अनुसार हाल देशभर २३ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन्। देशभर कारागारको क्षमता भने १५ हजार ४६६ रहेको छ। रासस

प्रकाशित: ८ कार्तिक २०७६ ०५:०२ शुक्रबार

कैदीबन्दी दन्तसेवा