समाज

प्रहरीको ध्यान राजपुर बम काण्डमा भएकाे माैकामा तस्करी बढ्यो

रौतहट- नेपाल प्रहरीको ध्यान राजपुर बम काण्डतिर गएको बेला नेपाल भारत सीमामा तस्करी बढेको छ। चाडपर्वको समय पारेर मुख्य गरी दक्षिण पश्चिम नाकामा तस्करी बढेको छ।

राजपुरमा भएको बम काण्डको अनुसन्धानका लागी प्रहरी व्यस्त भएको मौका छोप्दै तस्करहरुले नेपाल भारत सिमा क्षेत्रमा खुलेआम तस्करी शुरु गरेका छन्। नेपाल प्रहरी मुख्य गरी सुरक्षा व्यवस्था मिलाउन र अनुसन्धानमा व्यस्त रहेको मौकामा रौतहटको विभिन्न नाका हुँदै विस्फोट पटका तथा कपडा, किराना सामानको तस्करी बढेको देखिएको छ।

सबै भन्दा बढी रौतहटको बेलबिछवा, गौर, महादेवपट्टि, बन्जरहा, औरैया र बंकुल नाकाबाट अत्यधिक मात्रामा तस्करी फस्टाएको देखिएको हो। यसै गरी तस्करहरुले रामपुर खाप, मठिया महुलिया नाकाबाट पनि दिपावली छठका बेला बिक्रि हुने वस्तुहरुको तस्करी गरि रहेका छन्।

तराई मधेसका क्षेत्रहरुमा छठका बेला पटका तथा कपडाको माग बढी हुने भएकाले संगठित तस्करहरुले सिमामा रहेका दुवै प्रहरी चौकीलाई प्रभावमा पारेर तस्करी शुरु गरेका हुन्। बुधबार सशस्त्र प्रहरीको बेलबिछवा बोर्डर आउट पोष्टले एक लाख भन्दा बढीको पटका बरामद गरे पछि पटका तस्करीको रहस्य सार्वजनिक भएको हो।

नेपाल बाट भारततर्फ हरियो मटर, मरिचलगायतका चाइनिज सामानको तस्करी भइरहेको छ भने भारतबाट तयारी कुखुरा र चल्ला, इलेक्ट्रोनिक्स, कपडा, खाद्यान्नलगायतका वस्तु व्यापक रुपमा तस्करी भइरहेको छ। विगत सात महिनाको अवधिमा नेपाल प्रहरीले ३ करोड भन्दा बढीको माल सामान बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ भने १ सय १७ जनालाई पक्राउ गरि कारवाही गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसै गरी तीन महिनाको अवधिमा सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटले झण्डै १ करोड बराबरको मालसामान बरामद गरेको छ।

प्रकाशित: ७ कार्तिक २०७६ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App