समाज

भैलो खेल्न, हजारौं सहभागी

आठविस नगरपालिका १ सात्तलामा भैलो खेल हेर्न आएका सहभागीहरु। तस्विर: गोविन्द केसी/नागरिक

दैलेख– आठविस नगरपालिका –१ सात्तलामा चार जिल्लाबाट भैलो खेल्न हजारौं सवसाधारण सहभागी भएका छन्। परम्परागत रुपमा कोजाग्रत पुर्णिमा रातीदेखी भोली पल्ट साँझसम्म यहाँ भैलो खेल्ने गरिन्छ। भैलो खेलसंगै दिनभर यहाँ विभिन्न जिल्लाबाट डेउडा खेल्न धेरै संख्यामा आउने गर्दछन्।

कतिपय खेल्न त कतिपय हेर्नका लागि आउने गरेका हुन्। ठुलो संख्यामा भेला भएर भैलो खेल खेल्न सात्तलामा जम्मा हुने गर्दछन्। दैलेख, अछाम, कालिकोट र सुर्खेतबाट यहाँ भैलो खेल्न जम्मा हुन्छन्। गाउँघरमा काममा ब्यस्त हुने भएपनि भैलोको दिन फुर्सद मिलाएर यहाँ जम्मा हुने गरेका हुन्।

दशैंपछि तिहार अगाडी यहाँ भैलो खेल्ने गर्दछन्। मनोरञ्जनका साधनहरु धेरै भित्रीएपनि पुरानो भैलो खेलको विशेषता नै फरक भएकाले अहिले पनि महत्व बढेको हो। लोकसंस्कृती जर्गेनाका गर्नका लागि भब्य रुपमा भैलो खेल आयोजना गरिरहेको आठविस नगरपालिका –१ का वडाअध्यक्ष पर्वसिहं विश्वकर्माले बताए।

पंचेबाजाको तालमा भैलो खेल्ने चलन अहिले पनि सत्तालामा चलिआएको अध्यक्ष विश्वकर्माले बताए। टाढाटाढाबाट भैलोमा जम्मा भएर तिहारको सुभकामना आदानप्रदान गर्ने र वर्षभरिको दुःख, सुख बाँड्ने गर्दछन्। भैलोमा सन्देशमुलक प्रस्तुती समेत राखीने गरिन्छ। भैलोलाई सांस्कृतिक महोत्सवका रुपमा पनि लिईदै आएको छ। वडा कार्यालयले ब्यवस्थापनका लागि बजेट समेत विनियोजन गरेको छ।

भैलो संस्कृती जर्गेनाका लागि आफुहरुले वडाबाट सहयोग गर्ने गरेको वडाअध्यक्ष विश्वकर्माले बताए। हजारौं मानिसहरु भैलो खेल हेर्न सहभागी हुने गरेको अध्यक्षले जानकारी दिए।
 

 

प्रकाशित: ७ कार्तिक २०७६ ०६:४१ बिहीबार

भैलो खेल्न सहभागी