समाज

छैन जीविकोपार्जनको विकल्प

लाँकुरीभन्ज्याङस्थित चापाखर्कमा गरिएको व्यावासायिक गाँजा खेती नष्ट गर्दै प्रहरी। तस्बिर: नागरिक

काठमाडौं - गहुँ, मकैै र तरकारी उत्पादन हुने पाखाभरि गाँजैगाँजाका बोट छन्। यिनै बोटले ललितपुरको गोदावरी नगरपालिका–२ लाँकुरीभन्ज्याङस्थित चापाखर्क गाउँका स्थानीयको जीविका धानेको छ। कच्ची सडक पुगे पनि अन्य आधारभूत सेवा–सुविधाबाट वञ्चित यो गाउँमा जताततै गाँजाका बोट गाँजिएका छन्।

वैशाखमा मकैसँगसँगै बीचबीचमा रोपेको गाँजा कात्तिकमा तयार हुन्छ। तयार भएपछि त्यसको झुप्पा टिपेर बिक्री गरिन्छ। तयारी गाँजा यसको ओसारपसारमा संलग्न व्यवसायीले गाउँमै आएर लान्छन्। स्थानीयले काटेर, सुकाएर तयार पारेको झुप्पाको पोको लिन व्यवसायी घरघरै पुग्छन्। त्यसबापत गाँजा व्यवसायीले स्थानीयलाई जति पैसा दिन्छन्, त्यही नै उनीहरूको दैनिक गुजाराको माध्यम हो।

प्रतिबन्धित गाँजाको आम्दानीमा आश्रित चापाखर्क गाउँ चक्रपथको ग्वार्को चोकबाट एक घण्टाको सवारी यात्रापछि पुगिन्छ। गाँजाखेती गर्नु रहर नभई बाध्यता भएको स्थानीय बताउँछन्। ‘गाउँमा मकै, गहुँ र तरकारी खेती त्यति राम्रो हुन्न, अन्नले वर्षभरि खान पनि पुग्दैन, त्यसैले हामीले गाँजा खेती गरेका हौं,’ स्थानीय सीतामाया तामाङले भनिन्।

गाँजाको वार्षिक आम्दानीबाट दुई छोराछोरीको पढाइ तथा घरखर्च चलाउँदै आएको सीतामायाले सुनाइन्। ‘जनप्रतिनिधि आए पनि हामीले केही पाएनौं, उल्टै कर तिर्नुपर्ने भार थपिएको छ। न राम्रो बाटोघाटो बनेको छ। अझ खानेपानी, शिक्षा र रोजगारको त कुरै नगरौं,’ उनले भनिन्, ‘असुविधैअसुविधा भएको गाउँमा यस्तो काम नगरेर के गर्ने ? हाम्रो पीडा कसले बुझिदिने ?’

स्थानीयले काटेर, सुकाएर तयार पारेको झुप्पाको पोको लिन व्यवसायी घरघरै पुग्छन् । त्यसबापत गाँजा व्यवसायीले स्थानीयलाई जति पैसा दिन्छन्, त्यही नै उनीहरूको दैनिक गुजाराको माध्यम हो।

उनका अनुसार अन्य खेतीपाती हुन छाडेपछि गाउँलेहरू गाँजाखेतीतर्फ तानिएका हुन्। यस क्षेत्रमा करिब तीन सय रोपनीभन्दा बढी भिरालो जमिनमा गाँजा रोपिएको छ। त्यसो त सो गाउँमा गाँजाखेती हुने गरेको खबरबारे प्रहरी–प्रशासन जानकार छ। कुनैकुनै वर्ष प्रहरी र जिल्ला प्रशासन कार्यालयको टोली गाउँ पुगेर गाँजा नष्ट गर्ने अभियान चलाउँछन्। तर गाउँलेले यो खेती गर्न छाडेका छैनन्। गाउँलेहरू गाँजाखेतीलाई ‘परम्परागत खेती’ भन्न रुचाउँछन्।

स्थानीय सरकारसँग जीविकोपार्जनको अन्य विकल्प माग्दा नदिएपछि परम्परागत खेतीमा लागेको उनीहरूको भनाइ छ। ‘हामीले गाउँमा गाँजा खाने होइन, केही मान्छे आएर किनेर लैजान्छन्, त्यसका लागि हामीले तयार पारेर राखिदिन्छौं,’ एक स्थानीयले भने, ‘यो हाम्रो परम्परागत खेती हो, धेरै वर्षदेखि हामी गाँजाखेती गर्दै आएका छौं।’

गाउँमा करिब दुई सय घरधुरी छन्। प्रत्येक घरको आँगनमुनि बारीमा गाँजाका बोटमात्रै देखिन्छन्। बुधबार त्यस क्षेत्रमा पुग्दा घरमा बुढापाकामात्रै थिए। युवाहरू बेलाबेलामा गाँजाको ओसारपसार र रेखदेखका लागि मात्रै आउने गरेको बुढापाकाले बताए।

स्थानीयले खुलेआम गाँजा खेती गरेपछि प्रहरीले त्यस क्षेत्रमा अनुगमन थालेको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेय, सहायक प्रजिअ खिमराज भुसाल, महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईलगायत जिल्लाका सुरक्षा निकायको टोली बुधबार गाँजाको व्यावसायिक खेती गरिएको स्थानमा पुगेको थियो। टोलीले दुई सय रोपनीभन्दा बढी क्षेत्रफलमा रहेको गाँजा नष्ट गरेको छ। बाँकी गाँजाका बोट पनि पालैपालो नष्ट गर्दै जाने प्रहरीको भनाइ छ।

गाँजा खेती, उत्पादन, सेवन वा ओसारपसारलाई निरुत्साहित गर्न गाँजा खेती गरिएको स्थानमा पुगेको महानगरीय प्रहरी परिसर जाउलाखेलका एसएसपी टेकप्रसाद राईले बताए। ‘यस क्षेत्रमा गाँजाको जंगल नै रहेछ, हामीले बुधबार धेरैजसो बोट काटेका छौं,’ उनले भने, ‘यो भेगमा अन्य स्थानमा पनि हेर्छौं, गाँजा खेती रहेछ भने प्रहरी परिचालन गरेर फँडानी गर्छौं।’ उनका अनुसार धादिङ, मकवानपुरलगायत केही जिल्लामा बढी मात्रामा गाँजा खेती हुँदै आएको छ।

गाउँमा भएको गाँजा खेतीले सहरका युवाहरूलाई लागुऔषधमा प्रेरित गरेकाले त्यसलाई जरैदेखि उखेल्नुपर्ने एसएसपी राईको भनाइ छ। प्रमुख जिल्ला भगीरथ अधिकारी पाण्डेयले ग्रामीण क्षेत्रका स्थानीयको पेसा बदलेर उनीहरूलाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए। ‘ललितपुरका पाखाहरू निकै विकट छन्, त्यस क्षेत्रका स्थानीय जानेर वा बाध्यताले यस्तो खेतीमा पे्ररित भइरहेका छन्,’ उनले भने, ‘त्यसकारण स्थानीय सरकारले त्यसको विकल्प दिन सक्नुपर्छ।’

बेफाइदाबारे थाहै छैन

गाँजा सेवन गरेर जीवनमा ठूलो क्षति ब्यहोरेका पात्रहरू धेरै भेटिन्छन्। गाउँमा सहज तरिकाले उत्पादन हुने गाँजाले सहरी युवालाई बिगार्नुसम्म बिगारेको प्रहरी तथ्यांकले देखाउँछ। प्रहरीका अनुसार गाउँमा उत्पादन भएको गाँजालाई लुकाइछिपाई सहरी क्षेत्रमा पु-याइन्छ। सहरमा गाँजा बिक्रीवितरण गर्ने गिरोह नै हुन्छ। त्यसले खासगरी सहरिया युवालाई दुव्र्यसनको सिकार बनाइरहेको छ।

तर गाँजा उत्पादन गर्दै आएका स्थानीयलाई गाँजाको नकारात्मक पक्षबारे थाहा छैन। गाँजा खेतीमा नदेखिने गरी सघाउने व्यक्तिहरूलाई गाँजाको नकारात्मक असरबारे थाहा भए पनि वास्तविक किसानलाई त्यसबारे त्यति बुझाइन्न। त्यसकारण पनि बुढापाकाहरू यस्तो खेतीमा लागिरहेका छन्। ‘औषधि बनाउन र गाईवस्तु बिरामी हुँदा खुवाउन गाँजा प्रयोग हुन्छ भन्ने हामीलाई थाहा छ,’ स्थानीय चम्पा तामाङले भनिन्, ‘किनेर लानेहरूले पनि औषधि कम्पनीलाई बेच्न लाने हो भनेर लैजान्छन्।’

प्रकाशित: ७ कार्तिक २०७६ ००:४९ बिहीबार

गाँजा जीविकोपार्जन