समाज

आप्रवासी कामदारसम्बन्धी सम्मेलन नेपालमा

काठमाडौं – नेपालमा कात्तिक २६ देखि २८ सम्म आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले सम्मेलनको जानकारी गराउँदै नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, प्रतिनिधिसँग मंगलबार छलफल गरेको हो।

आयोगका अध्यक्ष अनुपराज शर्माले आप्रवासी कामदारको मानवअधिकार संरक्षणमा भएका प्रयासबारे जानकारी गराए। मानवअधिकार आयोगले कतार र कोरियासँग आप्रवासी कामदारसम्बन्धी सम्झौता गरिसकेको जानकारी दिए।  आयोगले अब मलेसियासँग सम्झौता गर्ने प्रक्रियामा रहेको बताए। ‘आप्रवासी कामदारको विषय अन्तरदेशीय विषय भएकाले व्यवस्थापनमा उत्पत्ति मुलुक, बाटोमा पर्ने मुलुक, गन्तव्य मुलुक सबैको चासोको विषय हो,’ अध्यक्ष शर्माले भने, ‘नेपालमा हुने सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न कूटनीतिक नियोग तथा विकासका साझेदारसँग सहयोगको अपेक्षा छ।’

सम्मेलनबारे जानकारी गराउँदै आयोगका सदस्य सुदीप पाठकले आप्रवासी कामदारको जिम्मेवार भर्ना प्रक्रिया, अनियमित आप्रवासन, आप्रवासी कामदारको न्यायमा पहुँच सुनिश्चितताको विषयमा छलफलपछि काठमाडौं घोषणा पत्र जारी हुने जानकारी गराए।

छलफलमा नेपालस्थित जापान, जर्मनी, इजरायल, अमेरिका, भारत, रसिया, अष्ट्रेलिया, कतार, बंगलादेश, श्रीलंका, म्यानमार लगायतका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।

प्रकाशित: ६ कार्तिक २०७६ ०१:५० बुधबार

आप्रवासी_कामदार सम्मेलन