समाज

थामिएन चुरे दोहन, स्थानीय तह नै संलग्न

घुर्मी (सिरहा)– स्थानीय तहमा जनप्रतिनिधि आएपछि प्रकृति संरक्षणका पक्षमा जनमत तयार हुन्छ र यसले चुरे दोहन नियन्त्रण हुन्छ भन्ने आशा संरक्षण अभियन्ताहरूको थियो। तर, चुरे दोहन रोकिनुको साटो झन् भयावह बन्यो। चुरे दोहनमा स्थानीय तह नै लागेपछि आम जनतामा चुरे चिन्ता बढेको छ।

सरकारले ०७१ मै चुरे संरक्षण क्षेत्र कायम गरेर यस क्षेत्रबाट ढुंगा, बालुवा, गिट्टी निकाल्ने काममा कानुनी रुपमा रोक लगायो। तर, संरक्षण क्षेत्रबाट ढुंगा, बालुवा, गिट्टी निकाल्ने काम कहिल्यै रोकिएन। 

चुरे क्षेत्रमा दोहन गर्नेमा सिरहाको गोलबजार नगरपालिका अगाडि देखिएको छ। असोज १ गतेदेखि यस नगरपालिकाले निरन्तर चुरे संरक्षण क्षेत्रमा दोहन जारी राखेको छ। असोज २ गते स्थानीयहरूले ट्याक्टर नियन्त्रणमा लिएर प्रहरी र वन अधिकारी बोलाएका थिए। इलाका प्रहरी कार्यालय गोलबजारले ट्याक्टर नियन्त्रणमा पनि लियो। जरिवाना भराएर ट्याक्टर छाडियो। चुरे संरक्षित क्षेत्रबाट उत्खनन गरिएका ढुंगा लोड गरिएको ट्याक्टर स्थानीयले नियन्त्रणमा लिन खोजेपछि टेलरको हाइड्रोलिक उचालेर ढुंगा संरक्षित क्षेत्रमा झारेर ट्याक्टर भाग्न खोजेको थियो। 

गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीका अनुसार असोज १ गत्तेदेखि कातिक १ गत्तेसम्मका लागि खोलाजन्य पदार्थ अमानतमा विक्रि गर्न गागन खोला विजय महतोको र घुर्मी खोला विरेन्द्र कुमार यादवलाई अमानतमा दिइएको छ। उनले भने, ‘अमानतमा राजस्व संकलन गर्न दिइएको हो, संरक्षित क्षेत्रमा दोहन गर्न होइन।’ कर संकलन गर्न दिइएपछि आफूले अहिलेसम्म अनुगमन नगरेको उनले स्वीकारे। खोलाजन्य पदार्थ विक्रि गर्न भनिएपछि नगरपालिकाले खोलामा सिमांकन गरेको छैन्। कहाँबाट कति परिमाणमा खोलाजन्य पदार्थ झिक्ने बारे नगरपालिका मौन बस्दाको लाभ उठाउँदै संकलनकर्ताले चुरे संरक्षण क्षेत्रमै पसेर दोहन मच्चाएको चुरे जलाधार संरक्षण समितिका महासचिव देवकुमार मोक्तानले बताए।

संरक्षित क्षेत्रमै मानिस राखेर उत्खनन गरिएका ढुंगाको कर संकलन गर्दापनि कसैले वास्ता नगरेको स्थानीय सुखबहादुर खुलाल मगरले बताए। ‘सबै निकाय चुप बस्दा यो क्रम रोकिएको छैन, निरन्तर चलिरहेको छ,’ उनले भने।

‘उत्खननले खोला बस्तीतर्फ मोडिएर खेतबारी निलिसक्यो,’ गोलबजार नगरपालिका–१० चन्द्रोदयपुरका शुक्रबहादुर खुलाल मगरले घर अगाडिको खोला देखाउँदै भने, ‘ऊ परसम्म मेरो खेत थियो, खोलाले निलिसक्यो। कतिखेर घर निल्ने हो, ठेगान छैन।’

घुर्मी खोला बस्तीतर्फ हान्निँदा चन्द्रोदयपुर टोलका ७० घरधुरी जोखिममा छन्। यो बस्तीमा मगर, तामाङ्ग र दलित समुदायको बसोबास छ। ‘चुरे फेदमा रहेको यो बस्ती कसले जोगाइदिने हो ?’ पदमबहादुर सुनुवार भन्छन्,‘ स्थानीय सरकार आएपछि हाम्रो पीडामा मलम लगाइदिन्छ भनेको त उल्टो पो भयो। स्थानीय सरकार आएपछि दोहन झनै तिब्र पार्यो जसले आँगनको खोलो घरै पस्यो, उनले दुखान्त सुनाए।’

घुर्मी घोलाको चुरे संरक्षण क्षेत्र मात्र होइन गागन घोला पनि चुरे संरक्षित क्षेत्रमै पर्छ। असोजअघि लुकिछिपी भइरहेको दोहन असोज १ गत्तेदेखि घुलेआम भैरहेको छ। त्यो पनि गोलबजार नगरपालिकाको संरक्षणमा स्थानीय बताउँछन्। 

डिभिजन वन कार्यालय लाहानका प्रमुख सुभाषचन्द्र दासले निरिहता प्रकट गरे,‘नगरपालिकाले उठाउन लगाउँछ हामी के गर्न सक्छौ। उनले थपे,‘वनकर्मी पठाउँदा सब ठिकठाक छ, जवाफ फर्काउँछन्।’ निषेधित क्षेत्र नछुट्याई नगरपालिकाले ढुंगा बिक्री गर्नुले समस्या ल्याएको उनले बताए। सीमांकन नगरी ढुंगा, बालुवा बिक्री गर्नु गल्ती भएको प्रमुख प्रशासकीय अधिकृत केसी स्वीकार्छन्। तर, यो गलत काम अझै रोकेका छैनन्। नगर प्रमुख देवनाथ साहका अनुसार एक महिनाका लागि अमानतमा खोलाजन्य पदार्थ विक्रि गर्न दिने अधिकार प्रयोग गरि यसो गरिएको हो। प्रमुख प्रशासकिय अधिकृतको अधिकार प्रयोग भएर गरेको निर्णय हो भन्दै निषेधित क्षेत्रमा (साविक चन्द्रोदयपुर–६ र ७) ढुंगा बिक्री गर्ने क्रम जारी छ।

सात दिनदेखि चुरेक्षेत्रबाट निरन्तर ढुंगा उत्खनन भइरहे पनि यो रोक्नेतर्फ सरोकारवाला गम्भीर देखिएका छैनन्। चुरेमै पसेर गैरकानुनी रूपमा ढुंगा उत्खनन भइरहेको जानकारी हुँदासमेत नियमनकारी निकाय कानमा तेल हालेर बसिरहेको स्थानीयको गुनासो छ।

‘निषेधित क्षेत्रबाट झिकिएको ढुंगालाई गुन्जा कन्सट्रक्सन गोलबजार ६ नामको रसिद काटेर बिक्री गरिरेको छ। ढुंगा उत्खनन रोक्न गोलबजारका प्रमुख प्रशासकीय अधिकृत देखि नगर प्रमुखसम्मलाई संरक्षित क्षेत्रबासीले गुहार गर्दापनि सुनवाई नभएको स्थानीय बताउँछन्।

वनले चुरे दोहन रोक्न ठोस कदम चाल्न नसक्दा नगरपालिकाको रजाइँ भइरहेको स्थानीय बासिन्दा बताउँछन्। ‘नगरपालिकाबाटै गैरकानुनी ढंगले चुरे दोहन हुनु बिडम्बना हो,’ चुरे जलाधार संरक्षण समितिका महासचिव मोक्तानले भने। गैरकानुनी रूपमा चुरे दोहन गर्नेविरुद्ध कारबाही गर्नुपर्ने चुरे चलाधार संरक्षण अभियन्ता रामस्वरूप महतो बताउँछन्। चन्द्रोदयपुर र जमदहको चुरे क्षेत्रबाट उत्खनन गरिएका ढुंगा निषेधित क्षेत्रमै भण्डाण गरिएको छ। डिभिजन वन कार्यालय लहानका प्रमुख दासका अनुसार निषेधित क्षेत्रमा ढुंगा भण्डारण गर्नु गैरकानुनी हो।

चुरे संरक्षणको सरुवात
आठ वर्षअघि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले पहिलोपटक तराई–पहाडका सर्वसाधारणबीच सामाजिक सद्भाव बढाएर चुरे संरक्षण गर्ने कार्यक्रम अघि सारेका थिए। उनले चुरेमा बसोबास गर्दै आएका नागरिक र तराईबासीबीच सुमधुर सम्बन्ध स्थापना पनि गर्ने तथा चुरेका वन तथा खोलानालालाई प्राकृतिक रूपमा व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम घोषणा गरेका थिए।

यो कार्यक्रम लागू भएपछि चुरे क्षेत्र उत्खननका नियम र मापदण्ड बनाइएको थियो। जसको मूल उद्देश्य थियो–उत्पादनशील क्षेत्र तराई मधेसमा भइरहेको मरुभूमिकरण नियन्त्रण होस्। चुरेक्षेत्रमा ढुंगागिटी उत्खनन र क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको थियो।

तर, पछिल्लो समय नियामक निकायले चुरे संरक्षणप्रती देखाएको उदासिन्ताले चुरेक्षेत्रमा उत्खनन तीव्र बन्दै गएको छ। जसको परिणाम वर्षामा मधेसका गाउँबस्ती डुबानमा पर्ने गरेका छन्। चुरे, देशको कुनै एक क्षेत्रको मात्र जीवन आधार होइन। यो भौगोलिक विविधता जोगाइराख्ने र जैविक विविधताको मेरुदण्ड पनि हो। चुरे क्षेत्र भएर बग्ने नदी संरक्षण नगर्ने हो भने प्रदेश २ को आर्थिक विकास धरापमा पर्छ।

प्रकाशित: ५ कार्तिक २०७६ ११:४३ मंगलबार

स्थानीय_तह चुरे_दाेहन