समाज

सुनकोसीको पानी आउने भएपछि कालापानीवासी उत्साहित

खोटाङ - सुनकोसीको पानी गाउँमा ल्याउने योजनाअनुरूप जिल्लाको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा थालिएको रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। सुनकोसीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर पु¥याउन २०७२ चैत ११ गते उद्घाटन गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो। नदीभन्दा १८ सय मिटरमाथि रहेको गाउँमा पानी आउने भएपछि स्थानीय उत्साहित भएका छन्।

सुनकोसी किनारभन्दा ६ सय मिटरमाथिको पहिलो सप्लाई ट्यांकीमा गत भदौ ५ गते नै परीक्षणस्वरूप पानी पु¥याइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताए। ‘आयोजनाको काम केही समयपछि पूर्ण रूपमा सम्पन्न हुन्छ,’ उनले भने, ‘अहिले पानी तान्ने मेसिन जडान गर्दै पानी पम्पको परीक्षण गरिरहेका छौं।’ खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाखबराबरको श्रमदान गरी करिब एक करोड ८० लाखमा उक्त आयोजानको काम अन्तिम चरणमा पुगेको हो। गाउँ र नदीका बीचमा निर्माण गरिएको पहिलो र दोस्रो सप्लाई ट्यांकी हुँदै सबैभन्दा माथि निर्माण गरिएको मूल ट्यांकीमा नदीको पानी पु¥याएर ९७ धारामार्फत पाँच सयभन्दा बढी उपभोक्तालाई वितरण गर्ने तयारी गरिएको छ।

खानेपानीको विकराल समस्या रहेको कालापानीमा पम्पिङ प्रविधिमार्फत सुनकोसीको पानी गाउँमा पु-याउने विकल्प अघि सारिएको हो।

बाह्रैमास कलकल बग्ने सुनकोसीभन्दा माथिको कालापानी जिल्लाकै सुक्खाग्रस्त क्षेत्रमध्ये एक हो। खानेपानीको विकराल समस्या रहेको कालापानीमा पम्पिङ प्रविधिमार्फत सुनकोसीको पानी गाउँमा पु¥याउने विकल्प अघि सारिएको हो। छिमेकी वडाको इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका एक सय १५ घरपरिवारले हाल घन्टौं धाएर पानीको जोहो गर्दै आएका छन्। कालापानीका स्थानीय चुहार, मानेखोला र खारखोलामा रहेका पँधेराबाट दुई घन्टा हिँडेर खानेपानी उपभोग गर्न बाध्य छन्।

स्थानीयका अनुसार सुक्खाग्रस्त क्षेत्रका रूपमा रहेको कालापानीमा ल्याउने पानीको अन्य स्रोतको विकल्प छैन। वरपर खानेपानीको मुहान सुकिसकेको र अन्य वैकल्पिक स्रोत नभएपछि कालापानीमा नदीको पानी तान्ने विकल्प अघि सारिएको अध्यक्ष राउतले बताए। कालापानीमा खानेपानीको समस्या हल गर्न नदीको पानी पु¥याउनु वा बस्ती सार्नुपर्ने अवस्था छ। बसाइँ सर्न तर्खर गरिरहेका स्थानीयसमेत आयोजनाको काम सुरु गरिएपछि आशाले रोकिएका राउतको भनाइ छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको पहलमा रसुवाघाट–कालापानी पम्पिङ आयोजना सुरु भएको हो।

लिफ्टिङ आयोजनाका लागि नदीकिनारमा मेसिन राख्ने घर निर्माण गरेर पानी तान्ने बोरिङ उपकरण जडान गरिएको छ। सो बोरिङस्थलबाट विद्युत्को सहायतामा ५० एमएमको जिआई पाइपमार्फत १०÷१० हजार लिटर क्षमताको दुईवटा सप्लाई ट्यांकीमार्फत सबैभन्दा माथि गाउँमा निर्माण गरिएको ३५ हजार लिटर क्षमताको आरसिसी ट्यांकीमा पानी जम्मा गरेर वितरणको व्यवस्था मिलाइने उपभोक्ता समितिले जनाएको छ। पानी तान्ने मेसिन चलाउन नदीदेखि कालापानीसम्म विद्युत्का ३६ वटा पोल, ट्रान्सफर्मर र तार टाँगिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जनाएको छ।

खानेपानीको समस्या चर्किंदै गएपछि कालापानीमा सुनकोसीको पानी लिफ्ट गर्ने प्रयासस्वरूप २०७० सालमा ‘डिटेल सर्भे’ गरिएको थियो। कालापानीमा सुनकोसीको पानी तान्ने योजना सुरु भएसँगै हलेसी क्षेत्रमा दुधकोसीको, रावाबेंसीको डुम्रेधारापानीमा दूधकोसीको र साबिकको सदरमुकाम दिक्तेलमै साप्सु खोलाको पानी लिफ्ट गर्ने योजना अघि बढाइसकिएको छ।

प्रकाशित: ५ कार्तिक २०७६ ०१:३३ मंगलबार

कालापानीवासी सुनकोसी पानी