समाज

नेपाली कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण प्रशिक्षण

काठमाडौं– नेपाल सरकारका १८ कर्मचारीलाई भारतमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण दिइएको छ। 

नेपाली कर्मचारीको दोस्रो समूहले सोमबारदेखि भारतको बेंगलूरस्थित नेशनल एकेडेमी अफ कस्टम, इन्डाइरेक्स टेक्सस् एण्ड नार्कोटिस् (एनएसीआइए)मा उक्त प्रशिक्षण लिन सुरु गरेको हो।

भारतीय दूतावासका अनुसार नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरुको लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो। नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ। भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (आईटिईसी) कार्यक्रम अन्तर्गत रहेको छ। 

प्रशिक्षणले नेपाली कर्मचारीको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्ने बताइएको छ। २० नेपाली अधिकारीहरुको पहिलो समूहले भदौ ७ गतेदेखि ६ दिने प्रशिक्षण लिएका थिए। २१ ज्ना नेपाली अधिकारीको तेस्रो समूहले यहीँ मंसिर–पुस महिनादेखि प्रशिक्षण सुरु गर्नेछन्। 

वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुिद्धकरण क्षेत्रमा एनएसीआईएन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो। योे एशिया प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो।

प्रकाशित: ४ कार्तिक २०७६ १६:१२ सोमबार

नेपाली_कर्मचारी भारत प्रशिक्षण सम्पत्ति_शुद्धिकरण