समाज

लेनदेन मुद्दामा फरार वडाध्यक्ष पक्राउ

सांकेतिक तस्बिर

वीरेन्द्रनगर- लेनदेन मुद्दामा फरार रहेका कालिकोट एक वडाध्यक्ष सुर्खेतबाट पक्राउ परेका छन्। आइतबार साँझ रासकोट नगरपालिका–५ का वडाध्यक्ष नरजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

वडाध्यक्ष शाहीले १० लाख बिगो तिर्न नसक्दा जिल्ला अदालत सुर्खेतले उनलाई दुई वर्ष कैद सजाय सुनाएको थियो। उनी त्यसपश्चात् अदालतबाट सम्पर्कविहीन भएका थिए। उनलाई सुराकीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतकी ओमकुमारी थापाले वडाध्यक्ष शाहीले आफूबाट लिएरको रकमको सावा ब्याज भराइ दिन भन्दै जिल्ला अदालत सुर्खेतमा मुद्दा दिएकी थिइन्। 

२०७५ कात्तिक १९ गते वडाध्यक्ष शाहीले थापालाई सावा ब्याज तिर्नुपर्ने अदालतले फैसला सुनाएको थियो। अदालतको उक्त फैसलापछि पनि वडाध्यक्ष शाहीले थापालाई सावा ब्याज तिरेका थिएनन्।

थापाले पुनः वडाध्यक्षविरुद्ध बिगो भराई पाऊ भन्दै उजुरी दिएकी थिइन्। अदालतले बिगो भराई पाऊ भन्ने मुद्दामा २०७६ साउन २४ गते फैसला सुनाएको थियो। उक्त फैसलाले वडाध्यक्षलाई दुई वर्ष सजाय तोकेको थियो। उक्त फैसलापश्चात् वडाअध्यक्ष शाही फरार थिए। ‘हामीले पटकपटक शाहीलाई जानकारी गराउँदा पनि शाहीले अनाकानी गर्नुभयो,’ जिल्ला अदालतका श्रेस्तेदार भुपाल भण्डारीले भने, ‘त्यसपछि उहाँलाई सजाय सुनुवाइ गरिएको हो।’

अहिले वडाध्यक्ष शाही अदालतले फैसला गरेअनुसार रकम तिरेका छन्। पैसा तिरे पछि प्रहरीले अदालतको आदेशअनुसार उनलाई छाडिदिएको छ। यता वडाध्यक्ष शाहीले उक्त कुरा अस्वीकार गरे। ‘म नेपालगन्ज छुँ,’ उनले भने, ‘त्यो व्यक्ति म होइन्।’ फोन स्पष्ट बुझिँदा बुझिँदै पनि उनले नुबुझेझै गरेर अरु कुरा चाहेनन्। पछि तुरुन्तै पुनः फोन गर्दा फोन उठाएनन्। केही समयपछि पुनः नागरिक न्यूजकर्मीले फोन गर्दा उनले पटकपटक फोन काटेका थिए।

केही कारोबारको कुरा भएको र अहिले मिलिसकेको रासकोट नगरपालिकाका नगर प्रमुख काशीचन्द्र बरालले जानकारी दिए। ‘लेनदेनको विषय रहेछ,’ उनले भने, ‘त्यो मिलिसक्यो।’

प्रकाशित: ४ कार्तिक २०७६ ११:५६ सोमबार

वडाध्यक्ष फरार पक्राउ