समाज

विस्थापित बस्ती सेनाद्वारा पुनःस्थापना

सिन्धुलीको सुनकोसी गाउँपालिका–१ गणेशस्थान बस्तीमाथिको जोखिमयुक्त ढुंगा फुटाउँदै नेपाली सेना। तस्बिर:अनिल/नागरिक

सिन्धुली - गत भदौ अन्तिम साता निरन्तर वर्षा भइरहेपछि सिन्धुलीको सुनकोसी गाउँपालिका–१ स्थित गणेशस्थान बस्तीमाथिको ठूलो ढुंगा केही मिटर तल सरेको गाउँलेहरूले थाहा पाए। ढुंगा झरेर बस्तीमा क्षति पुग्न सक्ने आँकलन भएपछि त्यहाँका २१ घरपरिवारले गाउँ छाडे।

कोही छिमेकी गाउँका आफन्तकहाँ त कोही सुरक्षित स्थानमा त्रिपाल टाँगेर बस्न थाले। दिउँसो डराईडराई खेतीपातीको काम गर्न जानु र राति अन्यत्रै बस्नु उनीहरूको दैनिकी भयो। तर दसैंअगावै नेपाली सेना उक्त ढुंगा व्यवस्थापन गर्न सफल भयो। बम विस्फोट गराई ढुंगा चोइटाचोइटा पारेर बस्तीमाथिको जोखिम हटाइएपछि स्थानीयले आफ्नै घरमा फर्किएर दसैं मनाए।

‘२०७२ सालको भूकम्पपछि त्यो ढुंगा झर्लाझर्ला जस्तो स्थितिमा थियो। भदौ अन्तिमतिरको वर्षाले गर्दा त्यो केही तल स-यो, त्यसपछि यहाँ बस्नु ठीक छैन भनेर हामी सबै भागेका थियौं,’ स्थानीय सुकुमाया थिङले भनिन्, ‘बस्ती विस्थापित भएसँगै हाम्रो घरबास उठेको महसुस भएको थियो तर नेपाली सेनाले ६ दिन लगाएर बम विस्फोट गराई ढुंगा फुटाएपछि हामी आफ्नै घरमा फर्कन पायौं।’ दसैंकै मुखमा आफ्नो घरमा बस्न नपाइने चिन्तामा बसेका स्थानीयलाई नेपाली सेनाले दसैंको अष्टमीकै दिनबाट पुनःस्थापन गरेको थियो। सेनाको सिन्धुलीस्थित बर्दबहादुर गणले उक्त ढुंगा फुटाएको थियो।

बस्तीबाट करिब तीन सय मिटर माथि रहेको ढुंगा फुटाइदिएर जोखिम हटाएपछि सेनासँगा स्थानीय खुसी भएका छन्।
‘दसैंको मुखमा विस्थापित भएको पाइयो,’ बर्दबहादुर गणका गणपति राजीव थापाले भने, ‘जोखिम अवलोकन गरेसँगै हामीले तत्काल हाम्रो निकायमा जानकारी गरायौं। त्यसपछि नियन्त्रित विस्फोट गराई बस्ती जोगाउन सफल भयौ।’ ११ वटा ‘कन्ट्रोल ब्लास्टिङ’ गरी ढुंगा फुटाइएको सेनाले जनाएको छ।

४० केजी विस्फोटक पदार्थको सहायताले उक्त ढुंगा ९० प्रतिशत फुटाएर व्यवस्थापन गरेको स्थानीयले जानकारी दिए। ‘भूकम्पपछि ढुंगाले बस्ती थिच्ने हो कि भन्ने आशंकाका बीचमा हामी थियौं तर भदौ अन्तिम साताको वर्षाले ढुंगा नै सरेको देख्यौं। त्यसपछि हाम्रो भागाभाग भएको थियो,’ स्थानीय दूधराज पुलामीले भने, ‘तर नेपाली सेनाले हामीलाई पुनःस्थापन गर्न सहयोग गरेको छ। अहिले ढुक्कले निदाउन सक्ने भएका छौं।’

नेपाली सेनालाई ढुंगा फुटाएर आफ्नै घरमा दसैं मनाउन पाएकोमा धन्यवाद दिँदै स्थानीयले सेनाको प्रशंसा गरेका छन्। नेपाली सेनाको ९ नम्बर बाहिनीका बाहिनीपति गणेशकुमार श्रेष्ठ सेनाले ढुंगा सर्दै आएका कारण गाउँ जोखिममा परेको थाहा पाउनेबित्तिकै तत्काल उद्धारको काम गरेको बताए। ‘हामीसँग सबै सामग्री थिएन, काठमाडौंबाट मगाएर तत्काल काम थाल्यौं र विस्थापित बस्ती पुनःस्थापित गर्न सफल भयौं,’ उनले भने। काम गर्ने क्रममा ढुंगा फुटाउँदा बस्तीलाई कुनै हानि नहोस् भनेर संयम अपनाएको उनको भनाइ छ।

सेनालाई गाउँपालिकाको सम्मान

ढुंगाको जोखिमले विस्थापित बस्तीलाई ढुंगा फुटाएर स्थापित गरिदिएको भन्दै सुनकोसी गाउँपालिकाले नेपाली सेनालाई सम्मान गरेको छ। गाउँपालिकाले एक कार्यक्रम आयोजना गरेर चाडपर्वको समय नभनी विस्थापित बस्तीलाई जोगाई स्थापित गर्नमा अमूल्य योगदान दिएको भन्दै गाउँपालिकाले नेपाली सेनाको बर्दबहादुर गण, कालिसिद्धि गण र १ नम्बर विपद् व्यवस्थापन गणलाई सम्मान गरेको हो।

गाउँपालिका उपाध्यक्ष दिर्बुसिंह मोक्तानले सेनाले गरेको कामको खुलेर प्रशंसा गरे। ‘हामीले नसकेपछि माथिल्लो निकाय गुहारेका हौं। सेनाले जानकारी पाउनेबित्तिकै काम गरेको छ,’ उनले भने, ‘गाउँपालिकाको तर्फबाट नेपाली सेनालाई धन्यवादसमेत दिन्छौं।’

प्रकाशित: ४ कार्तिक २०७६ ०२:१३ सोमबार

विस्थापित_बस्ती पुनःस्थापना