समाज

विवादित भारतीय विश्वविद्यालयबाटै विद्यावारिधि गर्ने बढी

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले यस वर्ष समकक्षतासहित दुई सय ३१ विद्यार्थीलाई विद्यावारिधिको उपाधि दिएको छ, जसमध्ये एक सय ४९ जना विदेशी विश्वविद्यालयबाट विद्यावारिधि गर्नेहरू छन्। समकक्षता प्राप्त गर्नेमध्ये ७५ जना भारतका विभिन्न विश्विद्यालयबाट विद्यावारिधि गर्ने छन् भने ७४ जना चीन, जर्मनी, अमेरिका, थाइल्यान्ड, स्विडेन, नेदरल्यान्ड, जापान, अस्ट्रेलिया लगायत देशबाट विद्यावारिधि उपाधि प्राप्त गर्ने छन्।

भारतका विश्वविद्यालयहरूमध्ये विभिन्न समयमा घर बसीबसी उपाधि दिइने गरेको भन्ने विवाद आएकै विश्वविद्यालयहरूबाट अधिकतर विद्यार्थीले विद्यावारिधि उपाधि लिएको त्रिविको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रम पुस्तिका, २०७६ मा प्रकाशित नामावलीले उजागर गरेको छ। भारतबाट ७५ जनाले उपाधि लिएकोमध्ये सबैभन्दा बढी भारतको राजस्थानस्थित सिंघानिया, मेवाड विश्वविद्यालय, बिहारको ललितनारायण मिथिला विश्वविद्यालय, डा. केएन मोदी विश्वविद्यालय रहेका छन्। भारतका यी विश्वविद्यालयले नेपाली विद्यार्थीसँग रकम लिएकै भरमा घरघरमै विद्यावारिधिको प्रमाणपत्र बाँड्ने गरेको आरोप लाग्दै आएको छ।

यस्ता विवादित विश्वविद्यालयका प्रमाणपत्रलाई त्रिविले समकक्षता दिनुहुँदैन भन्दै आवाज उठ्दै आए पनि त्रिविले त्यसलाई बेवास्ता गर्दै आएको छ। विद्यार्थीले यी भारतीय विश्वविद्यालयबाट सहजै उपाधि प्राप्त गर्ने विषयहरूमा व्यवस्थापन, समाजशास्त्र, अर्थशास्त्र, गणित, अंग्रेजी र शिक्षा विषय रहेका छन्। जबकि भारतबाहेकका अन्य देशहरूबाट विद्यार्थीले मेडिकल, इन्जिनियरिङ, नर्सिङ, आइटी (सूचना–प्रविधि) लगायतमा विद्यावारिधिको उपाधि लिएका छन्।

भारतका सिंघानिया, मेवाड, केएन मोदी र मिथिला विश्वविद्यालयले नेपालको बानेश्वर, कोटेश्वर, बागबजार तथा गोंगबुमा नेपाल सरकारको स्वीकृतबेगर गैरकानुनी रूपमा सम्पर्क कार्यालय खोली एजेन्टमार्फत विद्यार्थी भर्ना गराई बिनाअनकागजी प्रक्रियापु-याएकै भरमा त्रिविबाट विद्यावारिधिको समकक्षतासमेत प्राप्त गर्दै आएका छन्।

भारतका सिंघानिया, मेवाड, केएन मोदी र मिथिला विश्वविद्यालयले नेपालको बानेश्वर, कोटेश्वर, बागबजार तथा गोंगबुमा नेपाल सरकारको स्वीकृतबेगर गैरकानुनी रूपमा सम्पर्क कार्यालय खोली एजेन्टमार्फत विद्यार्थी भर्ना गराई बिनाअनुसन्धान कागजी प्रक्रिया पु-याएकै भरमा त्रिविबाट विद्यावारिधिको समकक्षतासमेत प्राप्त गर्दै आएका छन्।

पछिल्लोपटक त्रिविबाट विद्यावारिधिको समकक्षता पाउने ७५ विद्यार्थीमध्ये १३ जना मिथिला विश्वविद्यालयबाट, ११ जना मेवाडबाट, १० जना सिंघानियाबाट, ६ जना मोदी विश्विद्यालयबाट विद्यावारिधि गर्नेहरू छन्। भारतबाहेक अन्य देशहरूमा भने भिसाको व्यवस्था भएकाले विद्यार्थीहरू सम्बन्धित देशमै गएर मेडिकल, इन्जिनियरिङ तथा सूचना–प्रविधि विषयहरूमा अध्ययन–अनुसन्धानै गरी विद्यावारिधि उपाधि प्राप्त गर्ने गरेको त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ यादवको भनाइ छ।

तर भारतमा खुला सिमाना भएकाले नेपाली विद्यार्थीहरू विद्यावारिधिजस्तो उच्चशिक्षा क्षेत्रमा समेत कागजी प्रक्रिया पु-याएर उपाधि हासिल गरिरहेको निर्देशक यादवको गुनासो छ। ‘विद्यावारिधि उपाधि अध्ययन क्षेत्रको विस्तृतीकरण हो। विद्यार्थीले आफनो विषयमा शोध गरी अनुसन्धानका माध्यमबाट नयाँ खोज र सिद्धान्तको प्रतिपादन गर्छन्,’ कार्यकारी निर्देशक यादवले नागरिकसँग भने, ‘तर भारतीय विश्वविद्यालयहरूले नेपालमा विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोलेर पिएचडीकै खेती गरिरहेका छन्।’ उनका अनुसार पिएचडीको खेतीमा मलजल गर्ने काममा हाम्रो त्रिविकै केही प्राध्यापकहरू समेत लागेका छन्। डकुमेन्टका सबै प्रक्रिया पुगेको छ। यस्तो अवस्थामा त्रिविले कागज हेरेर समकक्षता दिने हो।

विदेशी विश्वविद्यालयहरूले दिने पिएचडी (विद्यावारिधि) को स्तर निरीक्षणको व्यवस्था भने नेपालमा छैन। शिक्षाविद् मनप्रसाद वाग्लेका अनुसार कागजी प्रक्रिया पु¥याएकै भरमा त्रिविले पिएचडीको उपाधि दिनु भनेको पिएचडीकै गरिमामा आँच पु-याउनु हो। उनले त्रिविमा शिक्षक हुन पिएचडी गरेकाले १२ अंक थप पाउने व्यवस्थाले पनि यसमा विकृति आएको बताए। पिएचडीको गरिमा जोगाउन विश्वविद्यालय अनुदान आयोगले मापदन्ड बनाएर प्रवेश परीक्षा लिनुपर्ने र अन्तर्राष्ट्रिय जनरलमा लेख–रचना प्रकाशित भएको आधार तय गर्नुपर्ने वाग्लेको सुझाव छ।

‘त्रिविमा शिक्षक प्रवेश गर्न पिएचडी गरेकाहरूले थप १२ नम्बर पाउँछन्। यही नम्बर पाउन विद्यार्थीहरूले सहज बाटो अपनाउने गरेका छन्। र त्यो सहज बाटो भारतीय विश्वविद्यालयहरू बनेका छन्,’ शिक्षाविद् वाग्लेले भने, ‘यतिसम्म कि सिंघानिया, मिथिला, मेवाड, केएन मोदी लगायत विश्वविद्यालयका नेपालमा सम्पर्क कार्यालयबाटै विद्यार्थी भर्ना हुन्छन् र एकपटक भारत पुगेर ती विश्वविद्यालयमा भाइवा दिएकै भरमा पिएचडी उपाधि पाउँछन्।’ उनले थपे, ‘हाम्रै विश्वविद्यालयका प्राध्यापकहरू तिनका गाइड हुन्छन्। भारतीय पिएचडीमा निकै विकृति छ। यसलाई रोक्न नेपालका विश्वविद्यालय, अनुदान आयोग र शिक्षा मन्त्रालयले कदम विशेष चाल्नुपर्छ।’

उनले काठमाडौं विश्वविद्यालयमा एमफिलमा फेल भएकाहरू सिंघानियाबाट पिएचडी उपाधि लिएर प्राध्यापक भएको समेत सुनाए। ‘त्रिवि पाठ्यक्रम विकास केन्द्रको लिस्टमा विश्वविद्यालयको नाम भएकै भरमा विद्यार्थीलाई पिएचडी उपाधिको समकक्षता दिनुहुँदैन,’ उनले सुझाए, ‘अनुदान आयोगले नेपालमा समकक्षता लिनका लागि पिएचडीको प्रवेश परीक्षा लिनुपर्ने, प्रस्तुतीकरण र अन्तर्राष्ट्रिय जनरलमा लेख–रचना प्रकाशित हुनुपर्ने मापदन्ड बनाउनुपर्छ, जसले विदेशी मात्र होइन स्वदेशी विश्वविद्यालयलाई समेत शुद्धताका लागि प्रेरित गर्नेछ।’                                                                                                                                                                                                                                                                                                                                             

प्रकाशित: ३ कार्तिक २०७६ ०२:४४ आइतबार

भारतीय_विश्वविद्यालय विद्यावारिधि