सुर्खेत– कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका भएपनि बसपार्क अभावमा छिन्चु बजार अव्यवस्थित छ। रत्नराजमार्गमा पर्ने यो बजार क्षेत्रमा अव्यवस्थित पार्किङले विभिन्न समस्याहरु निम्त्याउँदै आएको छ। प्रदेश राजधानीको पहिलो बजारमै अव्यवस्थित पार्किङ, दैनिक हुने सडक दुर्घटना, दुर्गन्धलगायतका कारण यहाँ प्रवेश गर्ने आन्तरिक तथा वाह्य पर्यटकहरु समग्र कर्णालीका बारेमा नकरात्मक धारणा बनाउँथे।
हरेक निर्वाचनमा यहाँका उम्मेदवारहरुको पहिलो अजेण्डा बसपार्क हुने गर्दथ्यो। वर्षौपछि स्थानीय तहको निर्वाचन भयो। यो निर्वाचनमा पनि जनप्रतिनिधिहरुले बसपार्कलाई पहिलो अजेण्डा बनाए। ‘यो क्षेत्र प्रदेशको प्रवेशद्वार मात्रै होइन्, भेरी र कर्णाली करिडोरको मुख्य केन्द्र पनि हो,’ भेरीगंगा नगरपालिकाका उपमेयर रेणु आचार्यले भनिन्, ‘जनतासँग निर्वाचनमा गरेका बाचा र पहिलो नीति तथा कार्यक्रममै समावेश गरिएको बसपार्क निर्माणको काम सुरु गर्न पाउँदा एउटा ठूलै युद्ध जितेजस्तै भएको छ।’
अघिल्लो साताको मन्त्रिपरिषद् बैठकले भेरीगंगाको छिन्चुमा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि बजार नजिकैको २.१५ हेक्टर बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गर्यो। पूर्वी सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई समेटेर भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर निर्माणको काम गरिरहेको छ। यहीँ कार्यक्रम अन्तर्गत शहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि छिन्चुमा बसपार्क निर्माणका लागि तीन करोड रुपैयाँ छुट्यायो। ‘बसपार्क निर्माणका लागि जमिनको जोहो नहुँदा सरकारले पैसा छुट्याए पनि काम सुरु भएको थिएन्,’ उपमेयर आचार्यले भनिन्, ‘मन्त्रिपरिषद्ले बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै तिहार लगत्तै टेन्डर प्रक्रियामा जान्छौं।’
जमिन प्राप्ति अगावै नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन र विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो। डिपिआर अनुसार बसपार्क निर्माणका लागि २३ करोड रुपैयाँ लाग्नेछ। विजनेस कप्लेक्ससहितको दुई तले भवन निर्माण हुने छ। बसपार्कभित्र एक सय २० वटा व्यापारिक सटरहरु निर्माण हुनेछन्। ‘विजनेश कम्लेक्सहित सुविधासम्पन्न ग्यारेज र रात्रीकालिन समयमा ३० देखि ३५ वटा बसहरु यहाँ राख्न मिल्छ,’ उनले भनिन्, ‘१० वटै जिल्लाको प्रमुख बसपार्क भएकाले यसलाई उच्च प्राथमिकता दिएर काम गछौं।’
बसपार्कमा अटो रिक्सा, हाईस, कार, बस जस्ता सवारी साधनको लागि छुट्टाछुट्टै पार्किङको व्यवस्था गरिनेछ। बसपार्क निर्माणका लागि ९६ वटा रुखहरु काट्नुपर्ने छ। नगरपालिकाले बसपार्क बनाउन प्रयोग गरिने २.१५ हेक्टर क्षेत्रफल बराबरको जमिन अर्को ठाउँमा खरिद गरेर बृक्षारोपण गर्ने तयारी थालेको छ।
प्रकाशित: २ कार्तिक २०७६ १२:४९ शनिबार