समाज

चन्द्रागिरिका १११ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

काठमाडौं– चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित देःपखा भित्रका १११ घर/जग्गाको धनी प्रमाणपत्र पूर्जा वितरण गरिएको छ।

विसं २०२१ सालमा गरिएको नापीका क्रममा छुटेका बलम्बु गाउँ ब्लक एरियामा रहेका घर जग्गाको चारकिल्ला छुट्टयाइ सम्बन्धित जग्गा धनीलाई नगरपालिकाको पहलमा धनीपूर्जा वितरण गरिएको हो।

 नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी, नापी कार्यालयका प्रमुख सुरेश जोशी, वडा अध्यक्ष प्रकाश श्रेष्ठलगायतले नगरवासीलाई जग्गाधनी प्रमाणपत्र पूर्जा हस्तान्तरण गरे।

सो अवसरमा नगरप्रमुख गिरीले नगरवासीको चाहनालाई सम्बोधन गर्नेगरी कामकारबाही अगाडि बढाइरहेको बताए। वडाध्यक्ष श्रेष्ठले स्थानीय तहको निर्वाचनका क्रममा घोषणापत्रमा उल्लेख गरिएअनुसार नै पूर्जा उपलब्ध गराइएको बताए।

नगरक्षेत्र भित्र रहेका अन्य घर/जग्गा विहीन नगरवासीलाई पनि धनी प्रमाण पूर्जा वितरण गरिने नगरपालिकाले जनाएको छ।

जग्गाधनी प्रमाणपूर्जा विहीन नगरवासीलाई पूर्जा उपलब्ध गराउन नगरपालिकाले पहल गर्दै आएको थियो। कार्यक्रममा ८० वर्ष नाघेको ७५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको थियो। रासस

प्रकाशित: २ कार्तिक २०७६ १०:०७ शनिबार

चन्द्रागिरि_नगरपालिका पूर्जा_वितरण