समाज

चार्डपर्वका कारण रगत अभाव

नेपालगञ्ज– चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगत अभाव देखिएको छ। 

दशैँ अवधिमा रक्त सङ्कलन नभएका कारण रगतको मौज्दातमा कमी आएको नेपाल रेडक्रस सोसाइटीको नेपालगञ्जस्थित क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए। 

सामान्य अवस्थामा तीन सय पिन्टभन्दा माथि नै रगत मौज्दात रहने भए पनि अहिले त्यो भन्दा कमी भएकाले रक्तदातालाई आह्वान गरेको उनले जानकारी दिए।

‘दुइ दिनयता रक्तदानका कार्यक्रम शुरु भएका छन्, अब मौज्दात बढ्दै गएको छ’ प्रमुख रेग्मीले भने, ‘रगतको अभाव हुन नदिन रक्तदातालाई अनुरोध गरेअनुसार सङ्कलन हुन थालेको छ।’

बाँकेमा सञ्चालित अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ।

दैनिक रुपमा नेपालगञ्जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्रका प्रमुख रेग्मीले जानकारी दिए। साबिकको मध्य तथा सुदूरपश्चिमका जिल्लाबाट उपचारका लागि बिरामी आउने गर्दछन्।

अभाव हुन नदिन धमाधम रक्तदान

नेपाल रेडक्रस सोसाइटीको नेपालगञ्जस्थित क्षेत्रीय रक्त सञ्चार केन्द्रमा रगत अभाव भएसँगै बाँकेमा सामाजिक संस्थाहरुले रक्तदान कार्यक्रम शुरु गरेका छन्। लायन्स क्लब, नेपाल जेसिज, सहकारी संस्थाले रक्तदान आयोजना गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ।  रासस

प्रकाशित: २ कार्तिक २०७६ ०८:४२ शनिबार

रगत_अभाव रक्तदान