समाज

ठगिएका १३१ जना यात्रुको भाडा फिर्ता

सिन्धुलीको बसपार्क नजिकै यात्रुवाहक सवारी चेकजाँच गरि एक वृद्ध यात्रुको भाडा फिर्ता गराउँदै ट्राफिक असई रामेश्वर पाण्डे। तस्बिरः अनिल/नागरिक

सिन्धुली– चाडपर्वको मौका छोपेर यात्रुसँग बढी भाडा लिने सवारीलाई कारवाही गर्नुका साथै यात्रुको भाडा फिर्ता गराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा यात्रुहरुको भाडा फिर्ता गरि चाडपर्वमा यात्रु ठनिबाट जोगाइएको हो। 

दसैं सकिएर काठमाडौं फर्कने यात्रुसँग बढी भाडा लिएको तथा यातायात व्यवसायीले यात्रु ठग्ने र दुःख दिने गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले चेकजाँच कडाई गरेको थियो। ‘विपि राजमार्ग भएर गुड्ने अधिकांश सवारी साधनले यात्रु ठग्ने क्रम बढेपछि सिन्धुली ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको हो’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई रामेश्वर पाण्डेले भने ‘दसैंको समयमा बढी भाडा लिएको गुनासो गर्ने एक सय ३१ जनाको भाडा फिर्ता गराएका छौं।’ उनले एक सय ३१ जनाको २९ हजार ६ सय रुपैयाँ भाडा फिर्ता गराइएको जानकारी दिए। दसैं मनाएर आफ्नो गन्तव्यतर्फ जाने यात्रुसँग मनपरी भाडा उठाएको गुनासो बढेपछि सिन्धुली ट्राफिक प्रहरीले सवारीलाई कारवाही गरेको छ। विपी राजमार्गस्थित सिन्धुलीको हिरापानीमा गरेको चेकजाँचमा एकै दिन सवारी कारवाहीमा ७१ हजार राजस्व उठेको ट्राफिक असई पाण्डेले जानकारी दिए।

सिन्धुलीबाट काठमाडौं जाने क्रममा प्रतिव्यक्ति दुई सय बढी भाडा तिरेरै गाडी चढेकी यात्रु पुर्णमाया खड्का भाडा फिर्ता हुँदा खुसी भईन्। आफुहरुले सधैं तिर्दै आएको भन्दा दुई सय बढी भाडा तिर्नुपर्दा ठगिएको महशुस गरेकी उनले प्रहरीले पैसा फिर्ता गराएपछि दङग परेकी थिइन्। सिन्धुली–काठमाडौँ प्रतीव्यक्ति ६ सय रुपैयाँ भाडा तोकीएको छ, तर यात्रुसँग भने ८ सयदेखि एक हजारसम्म उठाउने गरेको यात्रुहरुको गुनासो छ।

टिकटमा लाग्ने भाडादर मात्रै उल्लेख गरेपनि यात्रुसँग भने सिन्धुलीदेखि काठमाडौं धमाधम आठ सयदेखि एक हजारसम्म व्यवसायीले उठाएका थिए। यात्रु किरण कार्कीले ४ जनाको भाडा तिर्दा आठ सय रुपैयाँ बढी तिरेका थिए। प्रत्येक यात्रुको दुई सयका दरले व्यवसायीले बढी लिएपछि बढी भाडा तिरेका कार्कीको भाडा सबै प्रहरीले फिर्ता गराएपनि उनले पनि खुसी व्यक्त गरे।

‘भाडा बढी लिएको कसुरमा हामीले विभिन्न सवारीबाट १८ हजार राजस्व संकलन गरेका छौ’ ट्राफिक प्रहरी प्रमुख सई विष्णु बस्नेतले भने ‘चाडपर्वलाई मध्यनजर गर्दै सवारीबाट यात्रु ठगिनबाट जोगाउन हामीले चेकजाँचलाई कडाई गरेका हौं’ उनले भने। ट्राफिकले यात्रुलाई टिकट नदिई बढी भाडा लिने एक सय पाँच वटा सवारीलाई कारवाही गरि एक लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

दसैं तिहार जस्ता चाडपर्वका समयमा व्यवसायीले यात्रु ठगेको गुनासो प्रत्येक वर्ष आउने गरेको छ। यात्रुहरु ठगेको भन्दै विगतका वर्षमासमेत पैसा फिर्ता गराएको भएपनि व्यवसायीले यस वर्षसमेत यात्रुलाई ठगेका थिए। चाडपर्वमा एकोहोरो मात्रै यात्रुहरुको चाप हुने र एकतर्फी खाली गाडी जानुपर्ने भएकाले व्यवसायीले आफुहरु मारमा पर्ने भन्दै बढी भाडा लिने गरेका छन्।

प्रकाशित: २७ आश्विन २०७६ १३:१३ सोमबार

चाडपर्व बस_भाडा यात्रु