समाज

स्काभेटरले किचेर एकको मृत्यु

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ। स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।     
     
आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा२क ५४६४ नंको स्काभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। घटना राति घटेको र चालक फरार रहेकाले कसरी भयो भन्नेबारे केही खुल्न सकेको छैन।     

घटनाको अनुसन्धानबाट सबै कुरा तथ्यसहित छानबिन गरिने प्रहरीले जनाएको छ। उक्त स्काभेटर राजेन्द्र निर्माण सेवा प्रालि, कैलालीको रहेको जनाइएको छ। स्काभेटर चालक शेरबहादुर महरा भने फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। रासस

प्रकाशित: २७ आश्विन २०७६ ०५:४८ सोमबार

स्काभेटर मृत्यु