समाज

'सी' को सुरक्षाको लागि ४ तहका सुरक्षाकर्मी, चिनियाँ सेना पनि साथमै रहने

फाइल तस्बिर

काठमाडौं - काठमाडौंको सुरक्षा व्यवस्था पछिल्लो दिनभन्दा आज कडा बनाइएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको हो।

शनिबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागकाकर्मचारी  गस्तीमा खटिएका छन्। सुरक्षा निकायका अनुसार फरक–फरक टोली बनाई सडकको विभिन्न भागमा उनीहरु परिचालित रहेका छन्। 

सुरक्षा निकायले सीलाई ४ तहको सुरक्षा घेराको व्यवस्था गरेका छन्। पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी बल र चौथोमा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि चिनियाँ सेना समेत उनीसँगै आउने स्रोतको भनाइ छ।सडकमा ट्राफिक प्रहरीको संख्या उल्लेख्य मात्रामा बढाइएको छ।

केही रुटका सार्वजनिक सवारीसाधनलाई बिहानदेखि नै रुट परिवर्तन गरी सञ्चालन गरिएको छ।

नेपाल प्रहरीले सवारीसाधनको जाँचमा कडाइ गर्नुका साथै तीव्रता समेत दिएको छ।  उपत्यकामा सुरक्षाका लागि प्रहरीको थप शक्ति उपत्यका बाहिरबाट समेत ल्याइएको हो।

प्रकाशित: २५ आश्विन २०७६ ०५:०३ शनिबार

सुरक्षा_व्यवस्था सुरक्षाकर्मी सुरक्षा