समाज

श्रीमती र छोरीको गोली हानी हत्या,छोरामाथि खुकुरी प्रहार

फाइल तस्बिर

सिन्धुली - यहाँको गोलञ्जोर गाँउपालिका ६ नाकाजोलीमा श्रीमानले आफ्नै श्रीमती र छोरीलाई गोली हानी हत्या गरेका छन्।  गोलन्जोर गाउँपालिका ६ नाकाजोलीका टेकबहादुर मश्रागीले मादक पदार्थ सेवन गरेर श्रीमती र छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

  बिहिबार राति ११ बजे मापसे गरेर टेक बहादुर मश्रांगीले आफ्नै श्रीमती र छोरीको हत्या गरेका हुन्। श्रीमती किरण मश्रांगीसँग घरायसी विषयमा सामान्य वादविवाद भएपछि टेक बहादुरले भरुवा बन्दुकले हानेर श्रीमती र छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले जानकारी दिए। थापाका अनुसार टेकबहादुरले श्रीमती र छोरीको भरुवा बन्दुकले हानेर हत्या गरेका छन् भने छोरालाई  धारीलो खुकुरीले प्रहार गरि घाइते बनाएका छन्।

मादक पदार्थ सेवन गरेको विषयमा सामान्य विवाद विहिबार साझनै भएपनि आफ्ना ३ सन्तान सुतिरहेको अवस्थामा टेकबहादुरले हत्याको प्रयास गरेका थिए। भरुवा बन्दुकको छर्राले श्रीमतीको घाटीमा र छोरी प्रेमसु मश्रांगीको कनचटमा लागेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी सिन्धुलीले जनाएको छ।

श्रीमती र छोरीको हत्या गरेपछि उनले छोरा कृष्ण मश्रांगीलाई खुकुरी प्रहार गरेका थिए। मश्रांगीको धारिलो खुकुरी प्रहारबाट बाया हातमा चोट लागेको छ। उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ भने श्रीमती र छोरीको हत्या गर्ने टेकबहादुरलाई प्रहरीले प्रक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले टेकबहादुरसँगै भरुवा बन्दुक, खुकुरी, भरुवा बन्दुकमा लाग्ने पहेलो प्लाष्टिकको पोकाभित्र विभिन्न साइजको धातुको टुक्रा, डिकोल र डाबर लेखिएको कालो पदार्थ र सेतो बट्टामा १९ ओटा फलामको टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ आश्विन २०७६ ११:५८ शुक्रबार

गोली_हानी हत्या